

स्याङ्जा, असार १ ।
स्याङ्जाको बिरुवा गाउँपालिका मा चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित २५४ वटा विकास योजनामध्ये २८ वटा योजना रकम अभावका कारण प्रभावित भएका छन्। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानमा कटौती भएपछि ती योजनाहरू कार्यान्वयन हुन नसकेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले समानीकरण अनुदानतर्फ ८ करोड ४६ लाख रुपैयाँ प्राप्त गर्ने अपेक्षा गरेको भए पनि झण्डै २ करोड रुपैयाँ कटौती भएपछि विभिन्न विकास योजनामा असर परेको हो। गाउँपालिकाका अनुसार प्रस्तावित २५४ योजनामध्ये २२६ वटा योजना कार्यान्वयनमा गएका छन् भने तीमध्ये १७६ वटा योजना सम्पन्न भइसकेका छन्।
चालु आर्थिक वर्षका लागि पुँजीगत खर्चतर्फ १३ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको थियो। उक्त बजेटबाट २५४ वटा योजना प्रस्ताव गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिए। उनका अनुसार बजेट कटौतीका बाबजुद करिब ९० प्रतिशत योजना कार्यान्वयनमा गएका छन् भने कार्यान्वयनमा गएका योजनामध्ये झण्डै ८० प्रतिशत सम्पन्न भइसकेका छन्।
अनुदान रकम कटौती भएपछि वडा तहबाट प्रस्तावित तथा गाउँसभाबाट पारित भएका केही योजना नै प्रभावित भएका छन्। रकम अभावका कारण सडक पूर्वाधार, पदमार्ग, खानेपानी, सिँचाइ तथा तटबन्ध, मन्दिर र सार्वजनिक शौचालय निर्माणसम्बन्धी योजनाहरू बढी प्रभावित भएको गाउँपालिकाले जनाएको छ।
यसैबीच गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका ठूला योजनामध्ये आठवटै वडा कार्यालयलाई जोड्ने रणनीतिक सडक निर्माण कार्यक्रम सम्पन्न भएको जनाएको छ। उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वडा कार्यालयलाई सुविधायुक्त सडक सञ्जालमार्फत जोड्ने तथा ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर र दिगो बनाउने लक्ष्य राखिएको थियो।
गाउँपालिकाका योजना शाखा प्रमुख दीपक ढुङ्गानाका अनुसार समानीकरण अनुदान कटौती नभएको भए शतप्रतिशत योजना सम्पन्न गर्ने लक्ष्य रहेको थियो। ८ करोड ४६ लाख रुपैयाँमध्ये झण्डै २ करोड रुपैयाँ कटौती हुँदा २८ वटा योजना प्रभावित भएका हुन्। हालसम्म पुँजीगत बजेटतर्फ करिब ७ करोड रुपैयाँ खर्च भइसकेको र वित्तीय प्रगति करिब ५० प्रतिशत पुगेको उनले बताए।
चालु आर्थिक वर्षमा गाउँपालिकाले सबैभन्दा बढी बजेट सडक स्तरोन्नतिमा विनियोजन गरेको छ। यसका साथै जलवायु परिवर्तन न्यूनीकरण, खानेपानी, सिँचाइ, शिक्षा, खेलकुद, तर्ले सामुदायिक स्वास्थ्य भवन, सामुदायिक विद्यालयको क्षमता अभिवृद्धि तथा धर्मशाला निर्माणका कार्यक्रमहरूमा पनि उल्लेख्य बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।