

स्याङ्जा, असार २ — चापाकोट नगरपालिकाले कृषिमा प्रयोग हुने हाते ट्याक्टरको मर्मत तथा सञ्चालनसम्बन्धी सीप विकास गर्ने उद्देश्यले हाते ट्याक्टर मर्मत तालिम सुरु गरेको छ।
नगरपालिकाको आयोजनामा सुरु भएको तालिममा २९ जनाले आवेदन दिएका छन् भने सबै २९ जनालाई तालिम प्रदान गरिने भएको छ। तालिम असार २ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको सहजीकरण तथा प्रशिक्षण आईडियल इन्जिनियरिङ सर्भिसेस प्रा.लि. का इन्जिनियर अरुण अर्यालले गर्नेछन्। कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक प्रेम नारायण रेग्मीले सहजीकरण गरेका थिए।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले सहभागीहरूलाई तालिमको उद्देश्यअनुसार अधिकतम लाभ लिन र सकारात्मक सोच तथा व्यवहारको विकास गर्न आग्रह गरे।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख देवबहादुर खाँणले कृषकको उत्पादनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न कृषि उपकरण तथा हाते ट्याक्टर वितरण गर्दै आएको उल्लेख गरे। उनले वितरण गरिएका कतिपय हाते ट्याक्टर तथा कृषि मेसिनहरू बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेकाले तिनको मर्मत सम्भारका लागि यो तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।
नगरपालिकाले तालिममार्फत स्थानीय युवालाई प्राविधिक सीप प्रदान गरी स्वरोजगारका अवसर सिर्जना गर्नुका साथै कृषि क्षेत्रमा प्रयोग भइरहेका उपकरणहरूको दिगो उपयोगमा समेत सहयोग पुग्ने अपेक्षा गरेको छ।