
स्याङ्जा, १ असार । खुमा अर्याल फाउन्डेसनको आयोजनामा पुतलीबजारस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा ‘खुमा अर्याल प्राथमिक उपचार कक्ष’ स्थापना गरिएको छ। कक्ष स्थापनासँगै विद्यालयमा प्राथमिक उपचार सम्बन्धी तालिम तथा स्वास्थ्य सामग्री समेत प्रदान गरिएको छ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले रिबन काटेर उक्त प्राथमिक उपचार कक्षको विधिवत् उद्घाटन गरेका छन् । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले विद्यालयका प्रधानाध्यापक प्रेम नारायण पौडेललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तुलसीराम रेग्मीले खुमा अर्याल फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् व्यवस्थापन र रोजगारीका क्षेत्रमा अत्यन्तै प्रभावकारी काम गर्दै आएको बताए । नगरपालिकाले फाउन्डेसनका दर्जनौँ कार्यक्रममा सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रमुख रेग्मीले भने,
”यो अत्यन्तै उदाहरणीय र प्रभावकारी कार्यक्रम हो। यसको निरन्तरता र दिगोपनका लागि नगरपालिकाको तर्फबाट विद्यालयमा एक जना स्वास्थ्य सहजकर्ता (हेल्थ फेसिलिटेटर) को व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्दछु।”
जिल्लाभर सेवा विस्तार गर्ने लक्ष्य
फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले स्याङ्जा जिल्ला भित्रका एघारै वटा पालिकाका सामुदायिक विद्यालयहरूमा यो सेवा र प्राथमिक उपचार कक्ष विस्तार गर्ने फाउन्डेसनको योजना रहेको जानकारी दिए ।


शिक्षक र विद्यार्थीलाई प्राथमिक उपचार तालिम
कार्यक्रमकै अवसरमा गण्डकी मेडिकल कलेजका आकस्मिक कक्ष प्रमुख प्रोफेसर डाक्टर तरुण पौडेल, डाक्टर जय प्रकाश कोहिरी र सागर पौडेलको प्राविधिक टोलीले प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरेको थियो। तालिममा विद्यालयका ४० जना विद्यार्थी तथा पुतलीबजार नगरपालिका भित्रका १५ जना शिशु शिक्षिका एवं शिक्षकहरूको सहभागिता रहेको थियो।