

स्याङ्जा, १ असार । स्याङ्जाको भीरकोट नगरपालिकाको अगुवाइमा सयौ रोपनी जमिनमा खुर्सानी खेती गरिएको छ । नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै ग्रामीण अर्थतन्त्रलाई विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यले नगरपालिकाको अगुवाइमा १२५ रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरिएको हो ।
नगरपालिकामा संचालित विभिन्न कार्यक्रमअन्तर्गत खुर्सानी खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाकै अगुवाइमा खुर्सानी खेती गरिएको छ । नगरका ९ वटै वडामा २६ वटा सामूहिक नर्सरी स्थापना गरी उत्पादित एक लाख चार सय अकबरे खुर्सानी २७० जना कृषकलाई बिरुवा वितरण गरी झण्डै १२५ रोपनी क्षेत्रफलमा खेती विस्तार गरिएको छ ।
खुर्सानी खेतीबाट व्यावसायिक कृषि प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको नगरपालिकाले जनाएको छ । परम्परागत खेती प्रणालीमा उत्पादनशील जमिन बाँझो रहने, जंगली जनावरको समस्या बढ्ने तथा अत्यधिक रासायनिक मल–विषादी प्रयोग हुने अवस्थाबीच नगरपालिकाले थालेको अभियानले किसानलाई उत्साह मिलेको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताए ।
कार्यक्रमअन्तर्गत किसानलाई अभिमुखीकरण, समूह गठन, बीउ खरिद तथा वितरण, प्राविधिक सहजीकरण गरिएको छ । त्यस्तै रोग तथा किराको व्यवस्थापन, झोलमल तथा जैविक विषादी निर्माण तालिमलगायत गतिविधि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
हेफर परियोजना नेपालको अनुगमन तथा समन्वय समितिको निर्णयअनुसार एक रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्ने किसानलाई मल्चिङ प्लास्टिकसमेत सहयोग गरिएको छ । कृषि क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न नगरपालिकाले संचालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयले बताएका छन् ।
स्थानीयको बुझाइमा कृषि क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न कार्यक्रमले सकारात्मक प्रभाव पार्न थालेको छ । स्थानीय तह, विकास साझेदार संस्था र किसानबीचको सहकार्यले बाँझो जमिनको उपयोगसँगै रोजगारी र आयआर्जन बढाउने लक्ष्यलाई थप बल पुग्ने नगर कार्यपालिका सदस्य एवं भीरकोट–७ का वडाअध्यक्ष ताराप्रसाद अर्यालले विश्वास जनाए ।
स्याङ्जाको भीरकोट नगरपालिकाले यसअघि आँधीखोला किनारको बगर क्षेत्रमा व्यावसायिक तर्बुजा खेतीको परीक्षण गरेको थियो । कृषि क्षेत्रलाई विविधीकरण गर्दै किसानको आम्दानी बढाउने उद्देश्यले पहिलो चरणमा नदी किनारको जमिन प्रयोग गरी नमूना खेती थालेको थियो । हेफरको सहकार्यमा तर्बुजा खेतीको सफल परिक्षणपछि खुर्सानी खेतीमा केन्द्रित भएको नगरपालिकाले जनाइएको छ ।
नदी किनारको माटो र हावापानी तर्बुजा खेतीका लागि अनुकूल देखिएपछि परीक्षण सफल भएको छ । परिक्षण सकारात्मक देखिएसँगै तर्बुजाको व्यावसायिक उत्पादनमा विस्तार गरिएको छ । नगरपालिकाले किसानलाई बीउ, बेर्ना, कृषि उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराएको जनाएको छ । नगरपालिकाको–१ आँधीखोला किनार क्षेत्र, वडा नम्बर ४ को फाँट, वडा नम्बर ५ को पकान क्षेत्र र वडा नम्बर ६ को एकुवार फाँट गरी करिब २० रोपनी क्षेत्रफलमा रोपिएको तर्बुजाले उत्पादन दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए ।
नगरपालिकाले तर्बुजा खेतीको सफल परिक्षणसँगै सिम्ला मिर्च, अकबरे खुर्सानी तथा बेमौसमी तरकारी उत्पादनलाई प्रोत्साहन गरिरहेको जनाएको छ । परम्परागत खेतीमा सीमित किसानलाई नगदे बालीतर्फ आकर्षित गर्दै कृषि उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।