

वालिङ, २४ जेठ ।
सवारी दुर्घटना न्यूनीकरण तथा पैदलयात्रुलाई सुरक्षित रूपमा सडक वारपार गर्न सहज बनाउने उद्देश्यले वालिङ बजार क्षेत्रका तीन स्थानमा जेब्राक्रस निर्माण गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जा र अस्थायी ट्राफिक प्रहरी पोस्ट वालिङको पहलमा वालिङ नगरपालिकाको सहकार्यबाट सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने वालिङ बजारका विभिन्न तीन स्थानमा जेब्राक्रस निर्माण गरिएको हो।
ट्राफिक प्रहरीले जेब्राक्रसको प्रयोग गरी मात्र सडक पार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यसबाट पैदलयात्रुको सुरक्षा बढ्नुका साथै सवारी दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीयवासीले बजार क्षेत्रमा जेब्राक्रस निर्माण भएपछि सडक पार गर्न सहज र सुरक्षित भएको बताएका छन्। सम्बन्धित निकायले ट्राफिक नियमको पालना गर्दै जेब्राक्रसको सही प्रयोग गर्न सबैमा अनुरोध गरेका छन्।