

कालीगण्डकी, स्याङ्जा २७ जेठ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ‘खुसी पाठ्यक्रम’ कार्यान्वयन तथा ‘खुसी कक्षा’ सञ्चालनका विषयमा अभिभावकहरूलाई अभिमुखीकरण गरेको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा र पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष खिमबहादुर थापाले सामुदायिक विद्यालयको शिक्षा सुधार र रूपान्तरणका लागि ‘खुसी कक्षा’ कार्यक्रमको परिकल्पना गरिएको बताउनुभयो। उहाँका अनुसार नेपालमै पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ तयारी गरिएको भए पनि नवलपुरको मध्यविन्दु नगरपालिकाले पहिले नै कार्यक्रम सुरु गरेकाले कालीगण्डकी दोस्रो बन्न पुगेको हो।
थापाले विद्यार्थीको शैक्षिक विकाससँगै समाज सुधारका लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमलाई अझ प्रभावकारी बनाउन भारतका विज्ञ तथा प्रशिक्षकसँग परामर्श र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो। यसका लागि भारतबाट प्रशिक्षक ल्याई कास्कीको लुम्लेमा स्थानीय शिक्षकहरूलाई प्रशिक्षण समेत दिइएको जानकारी दिनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले सरकारी विद्यालयको शिक्षा सुधारका लागि गरिएको प्रयास सकारात्मक, समयसापेक्ष र प्रभावकारी रहेको बताउनुभयो। उहाँले विद्यालयको शिक्षासँगै घरमा अभिभावकबाट पनि व्यवहारिक शिक्षा आवश्यक रहेको धारणा राख्नुभयो।
जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चिन्तामणि अधिकारीले खुसी पाठ्यक्रमसम्बन्धी पुस्तक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिँदै सुरुआती चरणमा पाठ्यसामग्री मोबाइल र कम्प्युटरमार्फत प्रयोग गरिने बताउनुभयो।
कार्यक्रममा अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले खुसी कक्षाले विद्यार्थीमा सकारात्मक सोच, आत्मविश्वास र जीवनोपयोगी सीप विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए।