
स्याङ्जा, वैशाख २६ । वालिङ मा सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत हालसम्म १६०८ जना बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको छ।
वालिङ नगरपालिका अन्तर्गतका १४ वटै वडामा वैशाख १५ गतेदेखि सञ्चालन भएको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण लेखाजोखा गरिएको हो। परीक्षणका क्रममा २० जना बालबालिकामा मध्यम खालको कुपोषण तथा २ जनामा कडा खालको कुपोषण देखिएको नगरपालिकाले जनाएको छ।
बालबालिकाको पोषण अवस्था पहिचान गरी समयमै उपचार तथा परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कुपोषण देखिएका बालबालिकालाई आवश्यक स्वास्थ्य सेवा तथा निगरानीमा राखिने बताइएको छ।
नगरपालिकाका अनुसार कार्यक्रम वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा आफ्ना ६ महिनादेखि ५९ महिनासम्मका नानीबाबुहरुलाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगी पोषण परीक्षण गराउन अभिभावकलाई आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए ।
बालबालिकाको स्वस्थ वृद्धि विकासका लागि नियमित पोषण परीक्षण आवश्यक रहेको भन्दै नगरपालिकाले सबै अभिभावकलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।
