स्याङ्जा, १० फागुन । कार्यसम्पादन मूल्यांकनमा भीरकोट नगरपालिका जिल्लाकै उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयन सम्मको विभिन्न सूचकहरुका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भीरकोट नगरपालिका जिल्ला जिल्लाका ११ वटा पालिका मध्ये पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ ।
कार्य सम्पादन मूल्यांकनमा भीरकोटले ४६ दशमलब २५ अंक प्राप्त गरेर जिल्लाकै पहिलो स्थानमा परेको छ । । भने जिल्लामै सवैभन्दा कम हरिनास गाउँपालिकाले २२ दशमलब ७३ अंक प्राप्त गरेको छ । ५ वटा नगरपालिका र ६ वटा गाँउपालिका रहेको जिल्लामा कालिगण्डकी गाउँपालिका ४३ दशमलब ०२ अंक, फेदीखोला गाँउपालिका ४२ दशमलब ३२ अंक, वालिङ नगरपालिकाले ४१ दशमलब ४९ अंक प्राप्त गरेका छन् । विगतमा उत्कृष्ट हुने गरेको वालिङ नगरपालिका भने जिल्लाको चौथो स्थानमा रहेको छ ।
गल्याङ् नगरपालिकाले ४१ दशमलब ३७ अंक प्राप्त गरेको छ । अर्जुनचौपारी ३९ दशमलब ३३ अंक, बिरुवा गाउँपालिकाले ३७ दशमलब ४० अंक जिल्ला सदरमुकाम स्थित पुतलीबजार नगरपालिकाले ३५ दशमलब ४७ अंक प्राप्त गर्दै आठौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । नबौं स्थानमा परेको आँधीखोला गाउँपालिकाले भने ३३ दशमलब ९५ प्रतिशत कार्य सम्पादन गर्न सफल भएको देखिन्छ ।
दशौं र एघारौं स्थानमा पर्दै कार्य सम्पादन गर्ने पालिकामा चापाकोट नगरपालिकाले २८ दशमलब ३२ र हरिनास गाउँपालिकाले २२ दशमलब ७३ अंक प्राप्त गर्न सफल भएका छन् ।
आयोगले १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायतका आधारमा मूल्यांकन गरेको देखिन्छ ।
स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले बजेटको वार्षिक समिक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा अंक दिइएको आयोगले जनाएको छ ।
आन्तरिक राजस्व संकलनको अनुमानित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग लगायतका पक्षलाई हेरेर आयोगले मूल्यांकन गरेको बुझिन्छ ।
कार्यसम्पादन मूल्यांकनमा भीरकोट नगरपालिका जिल्लाकै उत्कृष्ट देखिएको छ ।
स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र स्थानीयस्तरका विकासे योजनाको आवधिक योजना तर्जुमा गरे/नगरेको पनि आयोगले मूल्यांकन गरेको छ । विद्यालय भर्ना बालबालिकाको संख्या, टिकाउ दर, सामुदायिक विद्यालयबाट एसईईमा प्राप्ते ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्या जस्ता १४ वटा सुचकमा आयोगले मुल्यांकन गरेको हो ।
सुशासन र पारदर्शितालाई ध्यानमा राखेर हरेक काम कानुन र नियमअनुसार सञ्चालन गरिएकाले राम्रो नतिजा आएको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुँगानाले वताए ।
‘सुशासन र पारदर्शितालाई ध्यानमा राखेर हरेक काम कानुन र नियमअनुसार सञ्चालन गरिरहेका छौं ।’ उनले भने, ‘अहिलेको यो नतिजाले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको छ । यो नतिजा आउनुमा भीरकोटका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र नगरवासी सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन कोशिष गरेका छौं ।’