

स्याङ्जा, असार १० । गल्याङ नगरपालिका को १९ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरिएको हो।
नगरसभामा आगामी आर्थिक वर्षका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। साथै नगरको समग्र विकास र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ८६ करोड ६३ लाख ५० हजार बराबरको वार्षिक बजेट विनियोजन गरेको जनाएको छ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख गुरु प्रसाद भट्टराई ले “दिगो विकास, व्यवस्थित सहर र समृद्ध गल्याङ” को लक्ष्यलाई आत्मसात गर्दै नगरवासीको जीवनस्तर उकास्ने, उत्पादन र रोजगारी वृद्धि गर्ने तथा समावेशी विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी उपप्रमुख हेमा न्यौपाने ले नगरको समग्र विकासका लागि नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
नगरसभाले आगामी वर्षका विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समृद्ध र व्यवस्थित गल्याङ निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।