

स्याङ्जा, असार ३ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणलाई सहज बनाउन गल्याङमा कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको छ।
पकवादी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा तथा हेफर प्रोजेक्ट नेपाल र गल्याङ नगरपालिकाको सहयोगमा स्थापित गल्याङ कृषि बजार केन्द्र बुधबारदेखि सञ्चालनमा आएको हो।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरूप्रसाद भट्टराईले बजार केन्द्रको उद्घाटन गर्दै कृषकले आफ्नै खेतबारीमा उत्पादन गरेका तरकारी, फलफूल लगायतका कृषि उपज आफ्नै बजारमा बिक्री गर्न सक्ने वातावरण बनाउन केन्द्र स्थापना गरिएको बताए। उनले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित भई बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरे।
नगर प्रमुख भट्टराईले यस बजार केन्द्रबाट कृषकले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले ताजा तथा स्वच्छ कृषि उपज खरिद गर्न सक्ने बताए।

गल्याङ – ११ का वडा सदस्य मोहन प्रसाद डुम्रेले कृषि बजार केन्द्रको स्थापनाले किसानका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले स्थानीय उत्पादनलाई बजारसँग जोड्न र कृषकलाई व्यवसायिक कृषि पेशामा प्रोत्साहन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
“स्वच्छ, स्वस्थ र समृद्ध गल्याङको आधार” भन्ने मूल नाराका साथ सञ्चालनमा आएको बजार केन्द्रले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको पकवादी कृषि सहकारीकी अध्यक्ष मञ्जु भुषालले वताइन ।
कार्यक्रममा जनप्रतिनिधि, सहकारीका पदाधिकारी, कृषक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कृषि बजार केन्द्र सञ्चालनमा आएपछि गल्याङ क्षेत्रका कृषकले आफ्ना उत्पादन बिक्रीका लागि सहज बजार पाउने विश्वास गरिएको छ।