भीरकोट, २७ चैत्र ।
विश्वलाईनै प्रभावमा पारेको महामारी कोभिड १९ को कारणले वन्दाबन्दी घोषणा भएको र दैनिक ज्याला मजदुरी गर्न नपाई जीविकोपार्जन गर्न गाह्रो भएका मजदुरहरु र असहायहरूका निमित्त “सेवा नै धर्म हो, आफु पनि बाचौं अरूलाई पनि बचाऔं“ भन्ने मान्यतालाई मध्येनजर गर्दै भीरकोट नगरपालिकामा रहेको करूङ बयरघारी मुस्लिम युवा क्लब र करूङ बयरघारी मुस्लिम समाजले कोरोना भाइरसबाट प्रभावित विपन्न परिवारको साहयोगका निमित्त भीरकोट नगरपालीकाको प्रकोप व्यवस्थापन कोषका लागि नगर प्रमुख छायाराम खनाल मार्फत रु ६० हजार हस्तान्तरण गरेका छन् ।
करूङ बयरघारी मुस्लिम युवा क्लबका अध्यक्ष मोहम्मद जुमाल अलिले खाद्यान्न सामाग्री जस्तै चामल, दाल, नुन र तेलको लागि ७५ विपन्न परिवार वरावर को उक्त रकमको चेक चेक हस्तान्तरण गरेका थिए । क्लबले चलाएको उक्त अभियानमा मुख्य सहयोग करूङ बयरघारी मुस्लिम समाज कतार साथै करूङ बयरघारी मुस्लिम समाज को रहेको थियो ।
रकम हस्तान्तरण गर्दै अध्यक्ष अलिले क्लबको उक्त अभियानमा साथ दिने सम्पुर्णलाई धन्यवाद दिदै विपतको यो घडिमा हामी सरकारको बाटो नताकी आ-आफ्नो ठाउँबाट थोरै धेरै न्यूनवर्गीय परिवारहरु लागी सहयोग गरौं भन्ने अनुरोध पनि गरेका थिए। कार्यक्रममा नगर प्रमुख छायाराम खनालले सहयोगी क्लब र समाजलाई धन्यवाद दिदै सहायोग रकम सही ठाउमा सदुपयोग हुने प्रतिवद्धता ब्यक्त गर्दै नेपाल सरकारको नियम पालना गर्दै लकडाउन सफल पार्न र आफु आफ्नै ठाउँमा सुरक्षित रहन अनुरोध गरेका थिए ।
मुस्लिम समाजका पुर्व अध्यक्ष तथा भिरकोट नगरपालिकाका लेखा प्रमुख समेत रहेका जब्बर अलि मियाँले संकलित रकमबाट राहत वितरण गर्दा एकद्वार प्रणाली मार्फत वितरण गरिने कुरामा जोड दिएका थिए । एक द्वार प्रणाली मार्फत राहत वितरण गर्दा राहत पाउनु पर्ने वर्ग छुट्ने वा दोहोरिने सम्भावना कम रहन्छ उनले भने ।
कोरोना भाइरसको महामारीको यो समयमा यदी कुनै संघ संस्था वा व्यक्तिले कोरोना भाइरसबाट प्रभावित मजदुरहरु वा असहायहरूलाई सहयोग गर्न चाहेमा भीरकोट नगरपालिकाको मेघा बैंकमा रहेको प्रकोप व्यवस्थापन कोष खाता ग-७-२-१०६००१००२७२७८ मार्फत रकम जम्मा गर्न वा मोबाइल बैंकिङ्ग तथा ई-बैंकिङ्ग प्रयोग गरि फन्ड ट्रान्सफर गर्न वा सोझै नगरपालिकामा सम्पर्क गरि नगद वा जिन्सी सहयोग गर्न सकिने व्यहोरा भिरकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत कमल रेग्मीले जानकारी दिए ।
कोरना भाईरस र लकडाऊन बाट उत्पन्न जटिल बिषय बारे बुझ्न, जानकारी लिन, दिन नगरपालिकाले कल गर्दा पैसा नलाग्ने नम्बर १६६०६३४२१७७ (टोल फ्री नम्बर) को समेत व्यवस्था गरेको छ।
सहयोग हस्तान्तरणको उक्त कार्यक्रममा भीरकोट न।पा। १ का वडा अध्यक्ष एबं नगर प्रवक्ता दीपेन्द्र केसी, करूङ बयरघारी मुस्लिम समाजका अध्यक्ष नुरूल हक मियाँ, समाजका पदाधिकारीहरू, समाजसेवी हाजि जब्बार अलि मियाँ, इमान मोहम्मद ईसुफ मियाँ, अमिर हाम्जा, हाजी युनुस, मोहम्मद हनिफ, मज्बुन हसन, सैयद मुमद, दिन अहमद, क्लबका पदाधिकारीहरू , वरिष्ठ उपाध्यक्ष कुदरत अलि, सचिव अहमद अलि, कोषाध्यक्ष अब्दुल मजिद , युवा दाजुभाइ हरू, कतार समाजका प्रतिनिधि सफाईतुल मियाँको उपस्थिती रहेको थियो।