गल्याङ, २७ चैत्र । कोभिड -१९ संक्रमणको खतरालाई मध्येनजरगर्दै नेपाल सरकारले गरेको लकडाउनवाट दैनिक गुजारा समस्या परेका परिवारका लागि गल्याङ नगरपालिकामा पहिलो चरणको राहत वितरणको काम सकिएको छ ।
११ वटै वडामा पहिलो चरणमा १५ दिनका लागि राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा १५ दिनका लागि प्रतिव्यक्ति पाँच किलो चामलको साथै एक लिटर तेल, एक किलो दाल, एक किलो नुन र एउटा हात धुने साबुन वितरण गरिएको जनाएको छ ।
लकडाउनवाट प्रभावित अति विपन्न, दैनिक ज्यालादारी, सिमान्तकृत गरिब र असहायहरुलाई खाद्यान्न संकट भई भोकै बस्न नपरोस भनी राहत वितरण गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिए ।
पहिलो चरणमा सबै वडामा गरी एक हजार दुई सय एक परिवारका चार हजार छ सय ६५ जना व्यक्तिका लागि राहत वितरण गरिएको अधिकारीले जानकारी दिए । पहिलो चरणमा १५ दिनका लागि प्रतिव्यक्ति पाँच किलो चामलका दरले २४ हजार नौ सय ४५ किलोग्राम चामल वितरण गरिएको नगरप्रमुख अधिकारीले बताए ।
यस्तै, गल्याङमा पहिलो चरणमा एक हजार पाँच सय ६७ किलो दाल वितरण गरिएको छ भने एक हजार दुई सय १४ लिटर खाने तेल, एक हजार दुई सय ९० किलो ग्राम नुन र एक हजार दुई सय ३० वटा हात धुने साबुन वितरण गरिएको छ ।
वडा कार्यलयमा राहत माग गरिएकाहरुको आधारमा वडा समितिले सिफारिस गरे अनुसार नगरपालिकाबाट राहत वितरण भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
पहिलो चरण सकिएपछि समिक्षा गरेर अर्को चरणमा अझै व्यवस्थित तरिकाले राहत वितरण हुने समेत जानकारी दिए । केही वडाहरुमा छुट भएका परिवारहरुको नाम आएकाले उनीहरुको पनि अवस्था हेरेर राहत सामाग्री पठाउने तयारी भईरहेको छ ।