वालिङ, २६ फागुन ।
के तपाईले सवारी साधनमा पशुपंक्षी ओसापसार गर्न लाग्नु भएको छ ? यदी, यसो गर्दै हुनुहुन्छ भने पशु ढुवानी ऐन तथा मापदण्ड राम्रो संग वुझेर मात्र ढुवानी गर्नुहोला ।
पशु ढुवानी गर्दा सवारी साधनमा क्षमता भन्दा वढी भैसी ओसार पसार गरेको अवस्थामा आईतवार वडा प्रहरी कार्यालय वालिङले भैसी ढुवानी गरेको जिप सहित दुई जनालाई पक्राउ गरेको छ ।
भैसी ढुवानीमा निर्दयी, अमानवीय, क्रुर एवं यातनाजन्य कार्य भइरहेको भन्दै प्रहरीले स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने २६ बर्षिय जिप चालक युवराज कुमाल र रुपन्देही मर्चवार गाँउपालिका ७ बस्ने रुआव अलि फकिर पक्राउ गरेको जनाएको छ । रुपन्देहीको हरैयाबाट स्याङ्जाको पुतलीबजार ल्याउदै गरेको ५ ओटा भैसीलाई निर्दयी व्यवहार गरेको भन्दै वडा प्रहरी कार्यालय वालिङले भैसी मालिक र चालकलाई पक्राउ गरेको छ ।
मासुको प्रयोजनका लागि ल्याइएको ति भैसीलाई ग २ च २२६९ नम्वरको बोलेरो गाडीमा ढुवानी गरी ल्यइएको थियो । प्रहरीले नियन्त्रणमा लिदा ती भैसीहरु घाईते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
जुनसुकै प्रयोजनका लागि पशुपंक्षी ओसारपसार गरेपनि उनीहरुको सुरक्षित हुने अधिकारको हनन् भएको र पशु ढुवानीलाई व्यवस्थित गर्न नेपाल सरकारद्वारा जारी गरिएको ऐन तथा मापदण्डलाई व्यवहारमा नल्याउँदा पशुप्रति क्रूर व्यवहार भेटिएकोले पशु ढुवानीकर्तालाई पशुपंक्षीको अमानवीय तवरले ओसारपसार गरेमा कानुनी सजाय हुने व्यवस्था छ, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले भने, “कानुनी व्यवस्थाको समेत ख्याल नगरी अत्यन्तै क्रुर याताना दिएको पाईएकाले पक्राउ गरेका हौं ।” मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपंक्षी सम्वन्धी कसुर अनुसार ढुवानीकर्तालाई सजाय हुने समेत उनले वताए ।
जिपमा भैसी ओसारपसार गर्दा २ ओटा सजिलै र केही कठिन सगँ यात्रा गराए ३ ओटा सम्मको क्षमता रहन्छ । तर भैसी मालिकले एउटै जिपमा ५ ओटा भैसी ल्याउदा भैसीमा निकै चोटपटक र अत्यन्तै सकस हुनेगरी यात्रा गराएको प्रहरीले जनाएको छ । भैसी माथी भैसी कोचेर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको बताइएको छ । भैसीको सिङ् देखि अन्यभागमा चोटपटक र रगताम्मै अवस्थामा घाईते छन् ।
पशु चिकित्सकबाट चेकजाँच गराई भैसीमाथी क्रुर व्यवहार गर्ने ढुवानीकर्ता माथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक घिमिरेले बताए ।
सिद्धार्थ राजमार्गहँुदै धेरै पशुपंक्षी ओसापसार हुन्छ । तर, पशुपन्छी ढुवानी गर्दा सवारी साधनमा पशुपन्छीलाई बाँध्ने एवं राख्ने कार्यमा पशुपन्छीहरूप्रति निर्दयी, अमानवीय, क्रुर एवं यातनाजन्य कार्य भइरहेको छ छैन ? भनी राजमार्गमा रहेका प्रहरी इकाइ र पशु क्वारेन्टाइन कार्यालयले राजमार्गमा पशुपन्छी ढुवानी भइरहेका साधनमा नियमित निरीक्षण र अनुगमन गर्न भनिए पनि अहिले सम्म कुनै चेकजाँच हुने गरेको थिएन ।
प्रहरी निरिक्षक घिमिरेले राजमार्गमा भए गरेका हरेक क्रियाकलापको निगरानी वढाएपछि अबैध तवरवाट भएका ढुवानीलाई कारवाहीको दायरामा ल्याई कारवाही गर्ने वताएपछि अहिले सबै सचेत हुन थालेका छन् ।
यता भैसी मालिकले भने आफुले ४ ओटा पठाईदिनु भनेकोमा भैसी व्यपारीले ५ ओटा पठाएको दावी गरेका छन् । भैसीको अवद्र व्यवहार भएको भने भैसी मालिकले स्विकार गरेका छन् ।
पशुपंक्षी सम्वन्धी कसुरको दफा २९० मा पशुपंक्षी प्रति निर्दयी व्यवहार गरेमा तीन महिना सम्म कैद र पाँच हजार सम्मको जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुन सवारी साधनमा कति पशुपंक्षी लिएर ओसारपासार गर्न पाईन्छ भन्ने प्रस्ट कानुनी व्यवस्था नहुँदा अधिकांश पशुको ओसापसारमा मानवीय व्यवहार भएको पाईदैन ।
आगामी दिनमा नेपालको संविधानले दिएको कानुनी व्यवस्था अनुसार पशुपंक्षीको बाचुन्जेल आफ्नो अधिकारको सुनिश्चित हुनु आवश्यक छ । यस तर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।