गल्याङ, ११ फागुन ।
स्याङ्जाको गल्याङमा तीन महिने हाउस वायरिङ तालिम सुरु भएको छ । गल्याङ नगरपालिका वडा नं ३ को समन्वयमा आँधिखोला बहुप्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटनमा प्रमुख अतिथि समाजसेवी लक्ष्मणप्रसाद भट्टराईले यस्तो तालिमबाट स्वरोजगार बन्न प्रेरणा मिल्ने बताए । उनले २० औं वर्ष अध्ययन गरेर जागिर खानु पर्ने अवस्थामा तीन महिनाकै तालिमबाट उद्दमशीलता र रोजगारीको अवसर सिर्जना हुने बताएका थिए ।
वडा अध्यक्ष महेश भट्टराईले जागिर अर्काको लागि गरिने हुँदा तालिम आफ्नो व्यक्तित्व विकासका लागि भएको जिकिर गरे । २०/३० हजार तलबका लागि युवाहरु विदेश जाने अवस्था रहेको भन्दै उनले इलेक्ट्रिसियन तालिमले यस्तो अवस्थाको अन्त्य गर्न सक्ने वताएका थिए ।
तालिम संयोजक कमल गैह्रेले २१ वटा यस्तै तालिमहरु स्याङ्जाका विभिन्न पालिकाहरुमा सञ्चालन भैरहेको जानकारी दिए । यस तालिममा परीक्षा हुने र उत्तिर्ण हुनेहरुका लागि मात्रै प्रमाणपत्रको व्यवस्था रहेको जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य मनोज राना, प्रशिक्षक ऋषि बस्याल, समाजसेवी गिरिधारी भण्डारी लगायतले मन्तव्य राखेका थिए उनीहरुले तालिमवाट सिकेको शिप लाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
वडाध्यक्ष महेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य केशबराज न्यौपानेले र सञ्चालन वडा सचिव खिम प्रसाद भण्डारीले गरेका थिए । आइतबार उद्घाटन भएको तालिम ६५ दिन अर्थात ३ सय ९० घण्टा चल्ने आयोजकले जानकारी दिएको छ ।