वालिङ, २ फागुन ।
वालिङ नगरपालिका वडा नम्वर १४ गैह्राटोलमा निशुल्क सिलाई कटाई तालिम शुरु भएको छ । स्थानीय सुभाष दलित महिला सिलाई कटाई बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुलाई लक्षित गरी तालिम शुरु भएको हो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम दिन शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वडा नम्वर १४ का अध्यक्ष झम्मर बहादुर श्रेष्ठले व्यवशायीक रुपमा काम गर्न सक्षम हुने गरी सीप सिक्न आग्रह गरेका थिए , भने, सीप सिकेर दक्ष बनेपछि आर्थिक रुपमा अरुको भर परिरहनु पर्दैन । दलित, जनजाती तथा पछाडि परेको समुदायलाई नगरपालिकाले समेत बिशेष ध्यान दिएको भन्दै वडा अध्यक्ष श्रेष्ठले उद्दमशिल नागरिक बनाउन आफूहरुको जोड रहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै वडा नम्वर १४ का समाजसेवी तथा युवा नेता बोधराज कुँवर राजुले सिपले जो कोहीलाई पनि आत्म निर्भर बनाउने बताए ।
सुभाष दलित सिलाई कटाई बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धनशुवा परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका बजारीकरण प्रमुख राजु खनालले गरेका थिए ।