वालिङ, ८ माघ
वालिङ नगरपालिका वडा नं २ र १२ मा व्यवसायिक तालिम शुरु भएको छ । वालिङ २ मा सुन्तला तथा कागती खेती सम्वन्धी तालिम शुरु भएको छ भने वडा नम्वर १२ मा व्यावसायिक बाख्रा पालन सम्वन्धी तालिम शुरु भएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम प्रदान गरिएको हो ।
वडा नम्वर २ को सुन्तला तथा कागती खेती सम्वन्धी तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष पोत प्रसाद लम्सालले व्यवसायिक सीपको सही सदुपयोग गर्न सकेमा आर्थिक रुपमा सवल बन्न सकिने धारणा व्यक्त गरेका थिए । उनले वडा कार्यालयले व्यवसायिक कृषक बन्न चाहने सबैलाई सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा दियालो युएनडिपीका बजारीकरण प्रमुख गंगाधर खनालले कार्यक्रमको बारेमा जानकारी दिए । सो अवसरमा वडा सदस्य मैनादेवी कोईराला , प्रशिक्षक तथा वालिङ नगरपालिका कृषि शाखा प्रमुख केश बहादुर थापा, दियालो युएनडिपीका कलेक्सन प्रमुख बिशाल बगाले लगायतले बोलेका थिए । तालिम बुधवार सकिने छ ।
त्यस्तै वडा नम्वर १२ मा भएको व्यवशायीक बाख्रा पालन सम्वन्धी तालिमको उद्घाटन गर्दै कार्यबाहक वडा अध्यक्ष लिलाबल्लौ न्यौपानेले बाख्रापालन व्यवसायक पछिल्लो समय आकर्षण बढेको बताए । उनले बाख्रापालन गर्दा सहजै बिक्रि हुने र राम्रो आम्दानी गर्न सकिने भन्दै व्यवसायिक रुपमा बाख्रा पालन गर्न सहभागीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा वालिङ नगरपालिकाका कार्यपालिका सदस्य तारा बहादुर बिक, दियालो युएनडिपी नेपालका परियोजना प्रमुख राधाकृष्ण डुम्रे, व्यवशायीक बाख्रा पालन सहकारीका अध्यक्ष यव प्रसाद न्यौपाने,सहकारीका अध्यक्ष अगुवा कृषक बलराम पराजुली, खेमकला भण्डारी, कमला न्यौपाने लगायतले बोलेका थिए ।