कमल रेग्मी/ भीरकोट, ८ माघ ।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं. ६ स्थित खिलुङ्ग देउराली स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ।
ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै सन्चालनमा रहेको स्वास्थ्य चौकीमा नयाँ प्रयोगशाला मंगलवार भीरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनालले उद्घाटन गरे । नगर प्रमुख खनालले प्रयोगशालाको दिगो व्यवस्थापनका लागि जनशक्ति एवं भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले आगामी दिनमा थप सहयोग उपलब्ध गराउने बताए।
सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वसनियता बढाउँदै रोगको समयमैं पहिचान गर्न प्रयोगशालाको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै नगर प्रमुख खनालले प्रयोगशालाबाट लाभ लिन सबैलाई आग्रह गरेका छन् । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण वन्धु अर्यालले स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याइराखेको बताए । प्रयोगशाखाको नियमित सन्चालन पश्चात यस क्षेत्रमा विरामीहरुको संख्या वढ्ने वताए ।
भीरकोट नगरपालिका वडा नं ६ का अध्यक्ष श्री लक्ष्मण खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा व्यवस्थापन समिति उपध्यक्ष श्री विश्वनाथ अर्याल लगायतका वक्ताहरुले स्वास्थ्य सेवा सहजरुपमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा जोड दिएका थिए ।