वालिङ, ३ माघ
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले टिम स्प्रिडमा काम गर्दा नगरपालिका सफल हुने बताएका छन् । शुक्रबार कर्मचारीहरुलाई निर्देशन दिदै प्रमुख खाँणले टिम स्प्रिडले नै जुनसुकै काममा पनि सफलता मिल्ने स्पष्ट पारेका थिए । उनले भने, “कर्मचारी तथा जनप्रतिनिधीहरु एक भई टिम स्प्रिडमा काम गरौं ।”
नगर प्रमुख खाँणले भेदाभाव रहित सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । डिजिटल प्रबिधिमा वालिङ अगाडि बढिरहेको भन्दै खाँणले जसको कार्यान्वयनका लागि कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने बताए ।
मानव संशाधन जुनसुकै निकायको लागि महत्वपूर्ण रहेको भन्दै खाँणले कर्मचारीहरुलाई तालिम प्रदान र पुरस्कृत गर्ने व्यवस्था मिलाईने जानकारी दिए । नगरपालिकालाई थप उचाईमा पुर्याउनका लागि नयाँ प्रबिधि, तरिका तथा शैली भए कर्मचारीहरुलाई पेश गर्न भन्दै नगरप्रमुख खाँणले समस्या र गुनाशो बारे आगामी बैठकमा छलफल गरिने जानकारी दिए । ऐन तथा कानुनको पालनामा कर्मचारी तथा जनप्रतिनिधी प्रतिवद्ध र सचेत रहनु पर्ने धारणा व्यक्त गरेका थिए ।
बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम साप्कोटा, लेखा अधिकृत ज्ञान प्रसाद अर्याल, राजस्व अधिकृत पदम प्रसाद पाण्डे लगायतले बोलेका थिए ।
हाल १९ वटा शाखा रहेको नगरपालिकामा झण्डै ८० जना कर्मचारी कार्यरत रहेकाछन् । जनप्रतिनिधी र कर्मचारीहरुको संयुक्त छलफल तथा बैठक प्रत्येक महिनाको ३ गते बस्ने तय भएको नगरपालिकाले जनाएको छ ।