वालिङ, २१ पौष ।
वालिङ नगरपालिकामा संचालन हुन लागेको मेडिक मोबाईल कार्यक्रम अन्तर्गत मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाईल स्वास्थ्य कार्यक्रमको नगरस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
वालिङ नगर कार्यपालिकाको आयोजना तथा मेडिक मोबाईलको प्राविधिक सहयोगमा सञ्चालित तालिममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले आधुनिक प्रविधिको प्रयोगसँगै आमा र बच्चाको स्वास्थ्यमा ब्यहारिक प्रयोग गर्नु जरुरी रहेको धारणा व्यक्त गरिन् ।
उपप्रमुख तिवारीले समुदायमा सुरक्षित मातृत्व तथा बाल स्वास्थ्य कार्यक्रमलाई मोबाईल प्रविधिको प्रयोगबाट थप टेवा पुग्ने बताईन । उनले मेडिक मोबाईल कार्यक्रमले मातृ तथा शिशु मृत्युदर न्युनिकरणमा सहयोग पुर्याउने विश्वास समेत व्यत्त गरेकी छन् ।
कार्यक्रममा वोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले मोबाईल सेवा मार्फत गर्भवति महिलाको गर्भ जाँचका लागि प्रोत्साहन गर्ने र आगामि दिनमा स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिनेको संख्यामा थप बृद्धि हुने हुँदा आमा र बच्चाको सुरक्षामा समेत महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्मा, मेडिक मोबाईल परियोजना प्रवन्धक दुसला अधिकारी लगायतले मोबाईल प्रविधिको प्रयोगले दीर्घकालीन र यथार्थपरक तथ्यांकहरु प्राप्त हुने भएकाले कार्यान्वयन प्रक्रियामा सहजता हुने धारणा व्यक्त गरेका थिए । मेडिक मोबाईल मार्फत कुनै पनि महिला गर्भवति भए पश्चात सुत्केरी हुने बेला सम्म ४ पटक गर्भ जाँच गर्ने महिलाहरुको दरमा बृद्धि ल्याउन सहयोग गर्ने बताईएको छ ।
प्रशिक्षणको पहिलो दिनको कार्यक्रममा नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा स्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । नगर उपप्रमुख कल्पना तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले गरेका थिए ।