अदुवा उत्पादन गर्नुस बजारको व्यवस्था हामी गर्छौ -नगर प्रमुख अधिकारी
गल्याङ, २ पौष ।
गल्याङ नगरपालिकामा मसलाबाली जोन कार्यक्रम सन्चालनको लागि काम सुरुवात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन इकाइ स्याङ्जाको आयोजनामा सम्पन्न कार्यक्रमवाट कार्यक्रम सन्चालनका लागि सन्चालक समिती र सल्लाहकार समिती चयन गरेको छ ।
मसलावाली जोन सन्चालनका लागि वाड नं ३ का हिमलाल भण्डारीको अध्यक्षतामा नौ सदस्यीय सन्चालक समिती सर्वसम्मत चयन गरिएको छ । यस्तै उप संयोजकमा वडा नम्बर ११ की सपना अधिकारी, सचिवमा वडा नम्बर ९ की कोपिला कोइराला, कोषाध्यक्षमा वडा नम्बर सातबाट अग्नी न्यौपानेलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा ४ वाट मनोज थापा, १० वाट शालिकराम थापा, २ वाट दिलु थापा र ८ बाट शेरबहादुर सार्की चयन भएका छन् ।
यसैगरी सात सदस्यीय सल्लाहकार समितिको पनि चयन गरिएको छ । जसको संयोजकमा वडा नं ३ वाट चिन्तामणी अर्याल र सदस्यहरुमा १ वाट पम्फा तिवारी र खुमकान्त बस्याल, ४ वाट रुक्मागत न्यौपाने, ५ वाट धनबहादुर दर्लामी र टोकराज पाण्डेय र ६ वाट सिता चापागाई चयन भएका छन् ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले किसानले लगाएको अदुवा विक्रीको ग्यारेन्टी नगरपालिकाले लिने वताएका छन् । अधिकारीले नगरपालिकाले अन्य सबै क्षेत्रको बजेट कटाएर भएपनि किसानले लगाएको अदुवाको लागत मुल्यको दोब्बर मुल्यमा नगरपालिकाले खरिद गर्ने जानकारी दिए । नगरप्रमुख अधिकारीले भने –‘सकेसम्म धेरै मुल्यमा विक्री गर्नुस, विक्री भएन भने नगरपालिकाले लागत मुल्यको दोब्बर मूल्यमा खरिद गर्नेछ ।’
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन ईकाई स्याङ्जाका प्रमुख बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले गल्याङमा मसलाबाली जोनका लागि अब छिट्टै कर्मचारीको व्यवस्थापन गरी काम सुरु हुने जानकारी दिए । चालु वर्षमै इकाईबाट ४५ लाख रुपैयाँ बराबरको कार्यक्रम रहेको जानकारी दिदै उनले विउँमा ५० प्रतिशत अनुदान, सिंचाई, कृषि औजार लगायतका क्षेत्रमा पनि सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
कार्यक्रममा गल्याङ नगर कार्यपालिका सचिवालय प्रमुख दलबहादुर सिंजालीले मसलावाली कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै नगरवासी एकजुट भएर काम गर्नुपर्ने वताएका थिए । कार्यक्रमको सञ्चालन जोन कार्यान्वयन ईकाई स्याङ्जाका कृषि प्राविधिक इन्द्र सुबेदीले गरेका थिए ।