सुन्तलाका लागि प्रख्यात स्याङ्जा
मनोज श्रेष्ठ / स्याङ्जा
पेशा त उनीहरुको पुख्यौली नै हो । जब परिवारै जनयुद्धमा होमियो, तब भने आधुनिक पेशा तर्फ लम्किए । जनयुद्धको मध्यतिर अर्थात २०५७÷५८ सालको सम्झना गर्दै स्याङ्जा, भीरकोट–७, लोलढुंगाका सुन्तला खेती किसान मीनप्रसाद कोइरालाले भने, ‘पार्टीको कामले यताउँता गर्ने क्रममा घर आउँजाउँ हुन्थ्यो। त्यही क्रममा रातदिन नभनी हाम्रो समूहले सुन्तलाबारी खन्ने काम हुन्थ्यो ।’
एवं प्रकारले केही बर्ष वित्यो । जनयुद्धले पूर्णविराम पायो ।
त्यसपछि भने कोइरालाका परिवारै सुन्तला खेतीमा व्यवसायिक भएर लाग्यो । बुबा गिरीधारी कोइराला भारतीय सेनाको जागिर छाडेर २०३७ साल मै भारतीय कम्युनिष्ट आन्दोलनमा हिडे । दुई छोरा मीन र शिव भने नेपालमा माओवादी जनयुद्ध छेड्न हिडेका थिए ।
पुराना कुरा सम्झदै मीनप्रसादले हलोखबरसंग अनुभव सुनाए, ‘पार्टी–पार्टी भनेर मात्रै हुदैन, केही श्रम वा व्यवसाय गर्नु राम्रो हो । त्यसपछि राजनीति गर्दा धेरै राम्रो हुन्छ भन्ने लागेरै सुन्तला खेती तर्फ आकर्षित भएका हौ ।’ बुबा र दुवै छोराहरु अहिले पार्टीमा राम्रै स्थानमा छन् । तर, उनीहरुको परिवारका सम्पूर्ण सदस्यहरु पार्टी–पार्टी भनेर मात्रै लागेका छैनन् । सवैले केही न केही ईलम गरेर बसेका छन् । बाँकी समय, पार्टीलाई सुम्पेका छन् ।
सुन्तलाकालागि स्याङ्जा देशकै अग्रणी पंत्तीमा पर्छ । यस जिल्लाका अधिकांस क्षेत्रमा सुन्तला फल्छ । अर्थात, गाउँलेले पनि सुन्तला नै रोपेका छन् । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्र्तगत स्याङ्जा पनि पकेट क्षेत्रमा परेका छ । सुन्तला विकासकालागि यस बर्ष झण्डै सवा करोड अनुदान यहाँका किसानले पाएका छन् ।
कोइराला परिवारले सयुक्त रुपमै सुन्तला खेती गरिरहेका थिए । तर, पछिल्लो समय उनीहरुवीच अंशवण्डा भयो । त्यसपछि पनि सुन्तलाबारी भने मासेका छैनन् । तर, यो सव हेर्ने जिल्ला मीनप्रसादले पाएका छन् । अहिले लगभग ३० रोपनी क्षेत्रफलमा सुन्तला लगाएको मीन बताउँछन् । यस बर्ष कम्तीमा पनि १५ लाख रुपैया बराबरको सुन्तला विक्री गर्ने लक्ष्य कोइरालाको छ । यसमा खर्च लगभग ४ लाख मात्रै हुने उनले जानकारी दिए ।
‘तर, यो काम बर्षको तीन महिनामात्रै गर्नु पर्ने हुन्छ’, कोइरालाले भने, ‘बर्षभरी हामी घरकै दुई जनाले हेर्छौ, तर, तीन महिनाभने १५ जनाले पूर्ण रुपमा काम गर्नुपर्छ ।’ ८ सय मीटर माथि फल्ने यहाँका सुन्तला देशका अधिकांस भूभागमा पूग्छन् । अग्र्यानिक मल हालेर फलाईएको कारण पनि यहाँको सुन्तला सबैको रोजाईमा पर्ने गरेको छ ।
एउँटा सुन्तला रोपेको पाँच बर्षमा फल्छ । यसैलाई आधार मानेर आगामी केही बर्षभित्रमा अहिलेको उत्पादन दोब्बर बनाउँने लक्ष्य कोइरालाको छ । खेती विस्तारपछि आम्दानी पनि राम्रो हुने भएकाले सुन्तलाको बोट छेउँछाउँमा खोर्सानी पनि रोप्ने योजना उनले बनाएका छन् । तर, सरकारले सुन्तला किसानकालागि सिंचाई सुविधा दिनसके अहिलेको तुलनामा ३० प्रतिशत बढी सुन्तला फल्ने अनुमान उनको छ ।