स्याङ्जा, २८ मंसिर ।
भिरकोट नगरपालिकाले २०७७ माघसम्ममा बयघारीवासीलाई शुद्ध र प्रशोधित खानेपानी उपलब्ध गराउने भएको छ । १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गर्दै नगरप्रमुख छाँयाराम खनालले उक्त कुरा बताएका हुन् ।
पाँच वर्षदेखि अलपत्र रहेको सो आयोजनाको शिलन्यास गर्दै मेयर खनालले – बयरघारी बजारलाई व्यवस्थित रुपले खानेपानी पुर्याउने आफ्नो योजना सफल पार्ने प्रतिवद्धता जनाए । आफ्नो प्रतिवद्धता पूरा गर्नका लागि प्रदेश देखि संघीय सरकारसँग आफू निरन्तर लागिरहने मेयर खनालको भनाई छ ।
नेपाल सरकारको ७ करोड, उपभोक्ताबाट सङ्कलन गरिएको १ करोड र बाँँकी श्रमदानस्वरुप भिरकोट नगरपालिकाको लागत सहयोग तथा सहभागितामा उक्त परियोजना सम्पन्न हुनेछ । कूल ९ करोड ९९ लाख ५४ हजार ५ सय २६ को लागतमा बयरघारी खानेपानी तथा सरसफाइ योजना निर्माण शुरु भएको उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले जानकारी दिए।
भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारीमा व्यक्तिगत पाइपमार्फत खोलाको पानी प्रयोग गर्दै आएका बजारवासीलाई शुद्ध र प्रशोधित सफा खानेपानी पु¥याउने उद्देश्यले काम थालिएको नगरप्रमुख छाँयाराम खनालले बताए ।
भिरकोट नगरपालिकाका– १, २ र ४ नम्बर वडाका ९ सय ४७ घरधुरीका करिब पाँच हजार जनसङ्ख्या यो आयोजनाबाट लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । लामो समयदेखि प्रतिक्षाको रूपमा रहेको यो खानेपानी आयोजना आगामी २०७७ माघसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीको भनाई छ ।