वालिङ नगरपालिका ३ माझकोटमा आयोजना गरिएको शिविरमा स्वास्थ्य जाँच गराउदै एक बृद्ध । शिविरमा युवा भन्दा पनि बृद्धबृद्धाहरुको बढी सहभागीता रहेको थियो । तस्वीर : श्रीकृष्ण सिग्देल
स्याङ्जा, २२ मंसिर ।
वालिङ नगरपालिका वाड नं ३ माझकोटमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेको माझकोटमा सम्पन्न स्वास्थ्य शिविरमा विरामीहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो ।
वालिङ हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा र वडा कार्यालयको व्यवस्थापनमा शिविर आयोजना गरिएको थियो । नीजि क्षेत्रबाट संचालित हस्पिटलले बेला बेलामा स्वास्थ्यको पहुँच नपुगेको क्षेत्रमा पुगेर शिविर मार्फत नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
९८ प्रतिशत गुरुङ् समुदायको बसोवास रहेको माझकोटमा एकदिने स्वास्थ्य शिविरबाट दुई सय ५० जना लाभान्वित भएका छन् । तिन जना डाक्टर सहित अन्य स्वास्थ्यकर्मीको टोलीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
सेवा नै धर्म हो भन्ने सन्देश सहित सेवा दिन वालिङ हस्पिटल उद्दत रहेको छ, वालिङ हस्पिटलका अध्यक्ष शोभाकान्त पौडेलले भने,“स्वास्थ्य सेवाबाट बन्चित रहेका ग्रामिण क्षेत्रको पहिचान गरि सेवा दिने हाम्रो लक्ष्य हो ।” स्वास्थ्यमा राज्यको पहुँच नपुगेको क्षेत्रमा नीजि क्षेत्रले पनि सेवा प्रवाह गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको पौडेलले बताए ।
वालिङ, गल्याङ, चापाकोट नगरपालिका लगायत कालीगण्डकी गाँउपालिका र दक्षिणी भेग पर्वतका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले संचालित वालिङ हस्पिटलले बेला बेलामा शिविर मार्फत पनि निशुल्क सेवा दिदै आएको छ । शिविरबाट पुरुष भन्दा बढी महिलाले सेवा लिएको आयोजकले जनाएको छ ।
यस्ता शिविर विभिन्न वडा, वडामा राख्नु आवश्यक छ वालिङ नगरपालिका ३ का वडा अध्यक्ष शुकराज गुरुङ्ले भने,“पैसाको अभावमा सामान्य स्वास्थ्यको चेकजाँच गर्न नसक्ने नागरिकलागि यस्ता शिविर लाभदायक हुनेछन् ।” यो शिविरले माझकोटवासीलाई ठुलो सहयोग मिलेको गुरुङले बताए । स्वास्थ्य जस्तो संवेदशिलमा राज्य उदाशिन बनिदिदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको अवस्थामा स्वास्थ्य शिविरले नागरिकलाई राहत मिलेको वडा अध्यक्ष गुरुङले बताए ।
शिविरमा प्रेस, सुगर, मुटु रोग, ग्यास्टिक, रुघाखोकी, महिलाको पाठेघर समस्या सम्वन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सामान्य रोग मानेका कारण बल्झिदै जादा ठुलो समस्या देखिने अवस्था आएकाले शिविरमा करिव १ घण्टा स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम पनि गरिएको हस्पिटलका सचिव खगेन्द्रप्रसाद अर्यालले बताए ।
९० जनाको भिडियो एक्सरे, ३० जनाको पाठेघर सम्वन्धी टेष्ट, ६ जनालाई पाठेघरमा देखिएको समस्या समाधानका लागि रिङ लगाएर सेवा दिइएको अर्यालले बताए । निशुल्क औषधी सहित आयोजना गरिएको शिविरमा डाक्टर अन्जना अर्याल, डाक्टर सन्दिप चौलागाँई, डाक्टर सुनिता गुरुङ लगायतका दुई दर्जन स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
सो शिविरमा स्थानीय समाजसेवी पदमराज गुरुङ्ले स्वास्थ्य चौकीलाई निशुल्क एक थान बेड हस्तान्तरण गरेका छन् । नीजि क्षेत्रबाट संचालित भएको स्वास्थ्य संस्थाले ग्रामिण क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर नागरिकको स्वास्थ्य प्रति देखाएको चासो सकरात्मक भएको स्थानीयहरुले बताएका छन् ।