साधना न्यौपाने
गल्याङ, २० मंसिर ।
प्रत्येक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिएको छ ।
“समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ यही मंसिर ९ गते देखि शुरु हुन गइरहेको १६ दिने अभियान अन्तर्गत गल्याङ नगरपालिकामा पनि महिला हिंसा विरुद्धको अभियानमा विविध कार्यक्रम गरी मनाइरहेको छ ।
गल्याङ नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गल्याङ नगरपालिकाकी उपप्रमुख देवीसरा थापा मगरले कुनैपनि खालको हिंसाले समाजमा कसैको पनि भलो नहुने बताएकी छन् । हरेक हिंसाले समाजमा बिभेद, द्वन्द्व ल्याउनुका साथै आपसी सद्भाव र सहकार्य पनि कमजोर बन्दै जाने उनको भनाई रहेको छ ।
महिला माथि हुने गरेका हिंसाका घटना कम गर्न आम नागरिकमा चेतनाको विकास हुनुपर्ने वताउदै विद्यालयका विद्यार्थीहरुले यस्ता कार्यक्रमहरुवाट आफू मात्र नभई घर परिवारमा समेत चेतना फैलाउन सक्ने भएकाले प्रभावकारी हुने वताईन ।
नगरपालिकामा न्यायिक समितीमा पनि यस्ता हिंसाका घटना आउने गरेको उल्लेख गर्दै समाजले महिला हिंसा कम गर्न चेतनानै मुख्य विषय रहेको बताईन ।
कायक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख केदारराज आचार्य, गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पाण्डेय लगायतले हिंसा कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताएका थिए । कार्यक्रममा १४ वटा विद्यालयका २७ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।