भवानी अधिकारी
स्याङजा, १९ मंसिर
पुतलीबजार नगरपालिकामा अन्र्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवस मनाइएको छ । ‘गाँउ नगरमा महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य प्रवद्र्धनमा अहम भूमिका’ भन्ने मुल नाराका साथ १६ औं दिवस बिहीवार कार्यक्रम गरी मनाइएको हो ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगर आर्थिक विकास संयोजक एवं नगर सदस्य बाबुकाजी जि.टी.ले नागरिकका शिक्षा र स्वास्थ्यका लागि अहोरात्र खटिइने स्वास्थ्य स्वयंसेवीहरुलाई राज्यले उचित सम्मान दिनुपर्ने धारणा राखेका थिए । बाल मृत्यूदर मातृ मृत्यूदर घटाउनका लागि महिला स्वयंसेवीहरुको योगदान अमूल्य रहेको बताउदै उनले नगरभित्रका स्वयंसेवीका लागि नगरपालिकाले केही बिशेष कार्यक्रम संचालन गर्ने योजना गरेको जानकारी गराए ।
कार्यक्रममा स्वास्थ्य स्वयंसेवी जिल्ला संजालका अध्यक्ष तारा शर्माले स्वास्थ्य स्वयंसेवीका काम, कर्तब्य र उनीहरुका गुनासाका बारेमा जानकारी गराउदैं बर्षोंदेखि समाजसेवामा खटिने स्वयंसेवीका लागि अव राज्यले सोच्नु पर्ने समय आएकोमा जोड दिएकी थिईन्े । साथै, उनले संघीय सरकार समक्ष जिल्लावाट बिभिन्न ६ बुदें माग पुरा गर्न आग्रह गर्दै ती मागलाई सार्वजनिक गरेकी थिइन् ।
स्वयंसेवी भन्ने शब्दलाई परिमार्जन गर्नुपर्ने, नेपाल सरकार पक्षले आइएलओ महासंधीमा हस्ताक्षर गरेका हुँदा मासिक १३ हजार ४ सय ५० पारिश्रमिक तोकिनुपर्ने, निशुल्क विमाको ब्यवस्था गरिनुपर्ने, ७ बर्ष अघि तोकिएको कार्यक्रम वापतको दैनिक ४ सय रुपैंयालाई बृद्धि गर्नुपर्ने, निति निर्माणमा महिला स्वास्थ्य स्वयंसेवीको अर्थपूर्ण सहभागिता हुनुपर्ने, सबैका महान पर्वमा कम्तीमा पनि १० हजार रुपैया चाडपर्व खर्च वापतको रकम उपलब्ध गराउनुपर्ने र सेवाका आधारमा राज्यले उचित पारिश्रमिक सहित विदाईको माग गरिएको जनाएका छन् ।
कार्यक्रममा स्वयंसेवी विमला गुरुङले झण्डैं २५ बर्षदेखि कार्यरत आफुले अहिलेसम्म राज्यका तर्फबाट केही पाउन नसकेको बताउदै नियमानुसारका पारिश्रमिक र तालिमको अवसर दिइनुपर्नेमा जोड दिएकी थिइन् ।
पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दयाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवार नियोजन अधिकृत मित्रप्रसाद अर्यालले स्वागत एवं नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले संचालन गरेका थिए ।
पुतलीबजार नगरभित्रका १४ वडामा एक सय एक जना महिला महिला स्वास्थ्य स्वयंसेवी कार्यरत छन । सरकारले उनीहरुका लागि पोशाक वापत बार्षिक १० हजार र यातायात खर्च वापत बार्षिक तिन हजार पाउने गरेका छन भने पुतलीबजार नगरपालिकाले मासिक एक हजार भत्ता वापतको रकम उपलब्ध गराउदै आएको छ ।