वालिङ, ३० कात्तिक ।
स्याङ्जाको वालिङका युवाहरुद्धारा पर्यटकीय स्थान बाहुनथानमा शनिवार १२ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । बाहुनथानको पर्यटकीय सम्भावना र यसको संरक्षणमा जुटेका यूवाहरुले गत हप्तावाट सुरु गरिएको सरसफाई कार्यक्रमको दोस्रो श्रृङ्खला अन्तर्गतको सरसफाई कार्यक्रम पश्चात वाहुनथानमा झण्डा गाडिएको हो ।
वण्डरफुल वालिङ र बाहुनथान पर्या पर्यटकीय उद्यानको आयोजना तथा वालिङ जेसिज, दारी ग्याङ स्याङ्जा, रोटरी क्लब अफ वालिङ,साईन भिलेज ईन्टरनेशनल एकेडेमी वालिङ, नवजागृति युवाक्लब र त्रिनेत्र युवाक्लब वालिङको सहयोगमा बाहुनथान सरसफाई कार्यक्रम सुरु गरिएको हो ।
बाहुनथानको पर्यटकीय सम्भावना र यहाँ दैनिक रुपमा आन्तरिक पर्यटकको आवागमन वृद्धि हुन थालेपछि विस्तारै फोहरमैलाका कारण यस क्षेत्रको महत्व घट्ने भएकाले सरसफाई कार्यक्रमलाई श्रृङ्खलावद्धरुपमा गरिएको वोण्डरफूल वालिङका अध्यक्ष एवं कार्यक्रम संयोजक आशिषप्रताप खांणले जानकारी दिए ।
बाहुनथान क्षेत्रको संरक्षण तथा प्रर्वद्धन गरी पर्यटकको आकर्षण बढाउने उद्येश्यले अभियान शुरु गरिएको खाँणले जानकारी दिए । उक्त ठाँउमा रहेका सिसाजन्य वस्तु, प्लाष्टिक जन्य फोहोर र कुहिने फोहोर समेत छुट्याएर फोहोरहरु वालिङ सरसफाई केन्द्रमा लगिएको छ ।
१२ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहरिए संगै यहाँको महत्व अझ मजवुद भएको दारी ग्याङका सदस्य भिमराज लामिछानेले जानकारी दिए । पर्यटकीय स्थलको संरक्षण र पिङ्क सिटी अबलोकन गर्न सकिने महत्वपूर्ण स्थलमा फहराएको राष्ट्रिय झण्डाले त्यहाँ अबलोकन गने पर्यटकलाई आफ्नो राष्ट्र भाव बढ्ने धारणा राखे ।
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको बाहुनथान वालिङ बजारबाट झण्डै २ किलोमिटर ग्रामिण कच्ची सडक मार्फत पुग्न सकिन्छ ।