भवानी अधिकारी/स्याङजा
‘केही पैसाको लागि बिषादीको प्रयोग जीवनभरको लागि रोग’ भन्ने नाराका साथ बिषादी न्यूनीकरण सम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम शुक्रवार स्याङजामा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङजाको समन्वय तथा राष्ट्रिय उपभोक्ता महासंघ स्याङजाको आयोजना र नेपाल सरकार प्लान्ट क्वारेन्टाइृन तथा बिषादी ब्यवस्थापन केन्द्रको सहकार्यमा स्याङजा सदरमुकाममा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले सबैभन्दा पहिला ब्यक्ति सचेत हुनु पर्ने बताउदै हामी उपभोक्ता जागरुक नभएसम्म सधैंभरी नकारात्मक असर परीरहने बताइन् । नगरपालिकाका सबै संगसंठनलाई एकै ठाउमा आवद्ध गराई नगरभित्रका सिमित स्रोत साधन परिचालन गरेर स्थानीयबासीका स्वास्थ्यप्रति सचेतना बढाउन आफु क्रियाशिल रहेको जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले उपभोक्ता मंचको प्रयासले मात्र काममा सफलता पाउन नसक्ने बताउदै नागरिकका स्वास्थ्यप्रति सजगता र सचेत रहने कार्यका लागि स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज, संचार जगत एकजुट भई काम गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत इश्वरीप्रसाद अर्याल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, पुतलीबजार नगरपालिका वडा अध्यक्ष तिलकराम श्रेष्ठ, बिषादी ब्यवसायी प्रकाश गौतम, कफी एवं सुन्तला ब्यवसायी फणिनारायण अर्याल, सुन्तला किसान मुक्तिप्रसाद अधिकारी लगायतले उपभोक्ता हक, हित र अधिकारका बारेमा आ आफना धारणा ब्यक्त गरेका थिए ।
सचेतना कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, केन्द्रीय महासचिव पुष्पराम पौडेल, केन्द्रीय सचिव गोबिन्द सुवेदी, प्लान्ट क्वारेन्टाईन बिषादी ब्यवस्थापन केन्द्रका बाली संरक्षण प्रमुख हुमबहादुर बिक लगायतले बिषादी, यसको प्रयोग, असर र न्यूनिकरणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
म्ांचका अध्यक्ष राजेन्द्रप्रसाद मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सदस्य कला रानाले स्वागत एवं सचिव विश्वनाथ पौडेलले संचालन गरेका थिए ।