चापाकोट, ५ कात्तिक ।
चापाकोट नगरपालिकाको समग्र विकासमा यहाँका सबै राजनीतिक दल, संघ संस्था र नागरिकको सकारात्मक धारणाका साथ अगाडी वढ्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् ।
कालीगण्डकी एकीकृत विकास केन्द्र र बिएम फाउन्डेसनको संयुक्त आयोजनामा विजयादशमी, शुभ दिपावली, छठपर्वको अवसरमा भएको शुभकामना कार्यक्रममा चापाकोट नगरको विकासमा सरोकारवालाले चासो देखाउँदै कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रमा विकासका कामहरु अगाडी बढाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा चापाकोटको विकासका सन्दर्भमा औद्योगिक क्षेत्र विकास गर्नुपर्ने, तरकारी र मसलाबालीको जोन बनाउनुपर्ने विषयमा छलफल भएको छ ।
साथै मेडिकल कलेज, भौतिक पुर्वाधारको विकास, गल्याङ चापाकोट सडक, मिर्दी चापाकोट सडक लगायत विद्यालय, क्याम्पसको स्तरोन्नती, साहसिक पर्यटन, होमस्टे पर्यटन, खेल पर्यटन बीच भलिबलको समेत प्रचुर सम्भावना रहेको हुदा पूर्वाधार विकास गरेर प्रशस्त आयआर्जन बढाउन सकिनेमा सहभागीले अन्र्तक्रियामा आफ्ना सुझाव राखेका छन् । कार्यक्रममा बैंक तथा बित्तीय संस्थाका प्रतिनिधि, व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल बैंक चापाकोट शाखाका प्रबन्धक रामचन्द्र पंगेनी, वडा नं ९ का अध्यक्ष शंकरभक्त भण्डारी, १० वडा अध्यक्ष रामचन्द्र कोईराला, सहकारी विकास बोर्ड सदस्य सरस्वती भट्टराई, नेकपाका नेता हरी पंगेनी, नेकपा चापाकोटका सचिव राजु कोईराला, जिल्ला समन्वय समिति सदस्य विष्णू आचार्य लगायतले आफ्ना भनाई राखेका थिए ।
नेपाल भ्रमण वर्ष २०१९२० गण्डकी प्रदेश आयोजक समितिका सदस्य अनन्तकुमार श्रेष्ठले नगरको सम्भावनालाई रणनैतिक योजना बनाई लागू गरेमा समृद्ध चापाकोट निर्माण हुनेमा जोड दिए । चापाकोट नगर उपप्रमुख विमला श्रेष्ठले सबैसंग सहकार्य गरी चापाकोटको विकासमा लागिपर्ने बताइन् । यहाँको विकासमा पूर्वाधार निर्माणको चरणमा रहेको वताउदै श्रेष्ठले नगरपालिका सबै राजनीतिक दल र सरोकारवालाको छलफल अनुरुपनै निर्माण गरिने जानकारी दिइन् । ।
कार्यक्रमका अध्यक्ष डा। बुद्धिमान श्रेष्ठले कालीगण्डकी राष्ट्रिय नदि महोत्सवको आयोजना पश्चात विकासका कार्यमा निरन्तर लागिरहेको र चापाकोट नगर लगायत कालिगण्डकी उपत्यका समृद्धिको योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।