वालिङ, ३० असोज ।
विश्व हिन्दु महासंघ जिल्ला कार्य समितिद्धारा गत भदौ २१ मा सम्पन्न वालिङ नगर अधिवेशनले सिताराम अधिकारीको संयोजकत्वमा निर्वाचित पदाधीकारी सहित ५१ सदस्यीय कार्य समितीको विहिवार वालिङमा पदभार ग्रहण गरिएको छ ।
निर्वाचित पदाधिकारी सहित कार्यसमिती र सल्लाहकार सदस्यहरुलाई वालिङ स्थित पतञ्जली योग पिठको भवनमा निर्वाचन अधिकृत दिपक लम्सालले पद तथा गोपनियताको सपथ ग्रहण गरि जिम्मेवारी प्रदान गरिएको हो ।
पदस्थापन समारोहको प्रमुख अतिथी तथा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले निर्वाचित नयाँ कार्य समितीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गर्नु नै ठूलो भूल भएको बताए ।
उनले भने, ‘जनताको चाहना धर्मनिरपेक्ष मुलुक होइन, यो विषय आन्दोलनको माग पनि थिएन । यति ठूलो विषयमा जनमत संग्रह पनि गरिएन । यसकारण यो धर्मनिरपेक्षता नमान्ने अधिकार सबैलाई छ । ’
मुलुकका राजनीतिक दल र सरकारलाई पुन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै पराजुलीले मुलुकको रक्षाका लागि सम्पूर्ण हिन्दु धर्मावलम्वी एक हुनुपर्नै जोड दिएका थिए । हामी शालिन तवरले हिन्दु राज्य संविधानमा राख्न माग गरेका छौं उनले भने, “शान्त रुपले गरिएको मागलाई सरकार र दलले नसुनेमा कडा संघर्ष गर्न पछि हट्ने छैनौं ।” हिन्दुत्वले चिनिएको नेपाललाई विदेशी धर्म भित्राउने खेल मुलुकमा चल्दै आएको छ पराजुलीले थपे ।
पदस्थापन समारोहमा विशिष्ठ अतिथी वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारीले क्रिश्चियन धर्म प्रचार गर्ने संस्थाको गतिविधिले देशभित्रको वातावरण अशान्त बनाएको उल्लेख गर्दै सच्चाई केन्द्रको रुपमा गाँउ गाँउमा सोझा नागरिकलाई जवरजस्ती बाइवल थमाएर धर्म परिवर्तन गर्न वाध्य बनाइरहेको देख्दा सरकारले वास्ता नगर्नु दुभाग्य भएको वताइन ।
हिन्दु धर्म हटेको हैन नगर उपप्रमुख तिवारीले भनिन्,“आफ्नो धर्मलाई ओझेलमा पर्न नदिन सबैले भुमिका खेल्न आवश्यक छ ।” हाम्रो सोचलाई बलियो बनाएर अगाडि बढ्न तिवारीको आग्रह थियो । हामीले मान्दै आएको संस्कृतिको जर्गेना र बचाउन विश्व हिन्दु महासंघले महत्वपूर्ण भुमिका खेल्ने विश्वास तिवारीको थियो ।
पदस्थापना कार्यक्रममा वालिङ नगर समितिका नवनिर्वाचित अध्यक्ष सीताराम अधिकारीले नगर मात्रै नभएर एघारै स्थानीयतहमा विश्व हिन्दु महासंघ गठन गरी संस्कृति र संस्कार बचाउन आफ्नो नेतृत्वले महत्वपूर्ण भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
समितिले ९ सदस्यीय सल्लाहकार समिति समेत मनोनित गरेको संघले जनाएको छ । कार्यक्रममा निर्वाचित सम्पूर्णलाई प्रमाण पत्र प्रदान गरिएको थियो । पदस्थापना तथा शुभकामना आदनप्रदान कार्यक्रमको अध्यक्षता विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष हरीहर पाण्डेले गरेका थिए भने स्वागत उपाध्यक्ष जगदिश गैह्रे र संचालन सचिव पदमप्रसाद पाण्डेले गरेका थिए ।