हिमदुत सम्वाददाता
स्याङ्जा ११ भदौ ।
भिरकोट नगरपालिकाले नगरपालिकालाइ समृद्ध नगर निर्माण गर्न आवधिक रणनैतिक कार्ययोजना निर्माण गर्ने भएको छ । मंगलवार नगरपालिकाको कार्यालयमा सम्पन्न दुई दिने कार्यशाला गोष्टीमा नगरको सर्वाङ्गीण विकासमा यसले दिर्घकालिन र अल्पकालिन योजना चयन गरेर अगाडी वढ्ने र सोही अनुरुप नगरपालिकाको विकास निर्माण गरिने वताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलले रणनीतिक योजना विकासको ऐना रहेको वताएका थिए । योजना छनौट गर्दा दिर्घकालिन विकासका योजना र अल्पकालिन विकासका योजना छुट्याएपनि विकास निर्माणमा अत्यान्त सजिलो हुने जानकारी गराएका थिए । पौडेलले विकास गर्दा जनसंख्या भुगोल, साधन स्रोत र त्यसवाट हुने प्रभावका वारेमा पहिल्यै छलफलवाट पारित गरेको योजनाले दिर्घकालिन प्रभावकारी विकास हुने भएकोले यो अत्यान्त आवश्यक रहेको औल्याएका थिए ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले विकासका लागि भीरकोटमा अथाह सम्भावना रहेको र जुनसुकै कार्यहरुमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले दिगो विकासका लागि ठोस कार्ययोजना चाहिने हुनाले यस रणनैतिक योजना निर्माण गरेपछि त्यस अनूरुप योजना कार्यन्वयन गर्दा विकास छिटो र प्रभावकारी हुने धारणा राखेका थिए ।
नगर उपप्रमुख सिमा के.सी. कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत धर्म राज ढुङ्गाना, राजनैतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, बोर्ड सदस्यहरु, नगरसभा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, नगरपालिका अन्र्तगत रहेका विद्यालयका प्र.अ. हरु, सहकारी संस्थाका व्यवस्थापकहरु, टोल विकास संस्थाका अध्यक्षहरु लगायतको उपस्थिति रह्यो । कार्यक्रमको सञ्चालन योजना अधिकृत याम प्रसाद रेग्मीले र नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यले आत्मीयताका शब्दसहित स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।
गोष्ठीमा योजना के हो र वर्तमान राज्य प्रणाली अन्तर्गत योजना तर्जुमा कसरी गरिन्छ, योजना तर्जुमा सम्बन्धी कानूनी व्यवस्था, स्थानीय तहको योजना तर्जुमाका आधारहरु, विद्यमान राष्ट्रिय, प्रादेशिक तथा स्थानीय नीतिहरु, योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, रणनैतिक योजना तर्जुमा सम्बद्ध निकाय संस्था र व्यक्ति, नेपालको संघीय प्रणालीमा शक्ति विभाजन, रणनैतिक योजनामा समावेश हुने मुख्य विषयहरु र अपेक्षित उपलब्धिका बारेमा नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलको प्रस्तुती रहेको थियो ।
उद्घाटन कार्यक्रमको समापन गर्दै नगर प्रमुख छायाराम खनालले अबको बदलिँदो समय आँखा चिम्लेर मात्र हिँड्ने होइन निश्चित योजना र खाका बनाएर अगाडि बढ्ने समय भएकोले यस कार्यक्रमको आयोजना गरिएको बताए । ‘प्रदेशका सबै आयोजनाहरुमा साझेदारी गर्न भीरकोट नगरपालिका सदा तत्पर रहेको र विकासको लागि अब्बल नगरपालिकामा उभ्याउन कटिवद्ध रहेको जानकारी गराउदै, नगर प्रमुख खनालले भर्ने स्थानीय स्तरमा उपलब्ध भएका जनशक्ति तथा श्रमशक्तिको समुचित उपयोग र व्यवस्थित गर्ने गरी योजना बनाउनुका साथै पर्यटन वर्ष २०२० लाई लक्षित गरी कार्यक्रम तथा योजना बनाइनेछ ।’
प्राविधिक सत्रको कार्यक्रममा स्कोलर नेपाल प्रा.लि. को तर्फबाट सहजकर्ता तिलक पौडेलले विषयगत क्षेत्रगत समितिहरु, तिनको कार्य क्षेत्र र अति आवश्यक आयोजनाहरुको विवरण तयार पार्ने विधिका बारेमा प्रस्तुति दिनुभयो । जसमारणनीतिक आयोजना निर्माणका लागि विभिन्न समितिहरु गठन गरियो । जस अन्तर्गत जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरु, कर्मचारी र सम्बन्धित क्षेत्रका विज्ञहरुलाई समेटी रणनैतिक योजना तर्जुमा मुल समिति, आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन तथा वातावरण, संस्थागत विकास समिति गठन गरियो । कार्यक्रमको सहजीकरण स्कोलर नेपाल प्रा.लि. किर्तिपुर काठमाडौँले गरेको थियो । भने भिरकोट नगरपालिकाका नगरप्रमुख छाँयाराम खानलको सभापतित्वमा सम्पन्न भएको थियो ।