मिना कंडेल
कावासोती ५, भदौ ,
पूर्व पश्चिम राजमार्गमा वनेका ठुला ठुला खाल्डा खुल्डी मर्मत हुन नसक्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । सडकको यस्तो अवस्था भएको लामो समय भइसक्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् । जसका कारण यो राजमार्ग भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरुलाई समस्या पर्न गएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डमा हजारौं ठुला ठुला खाल्डा परे पछि दुर्घटनाको जोखिम दोब्बरले बढेको कावासोतीका सागर क्षेत्रीले बताए । राजमार्गको मुख्य बजार क्षेत्रमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेको दुई महिना बितिसक्दा पनि मर्मत नभएपछि दुर्घटनाको जोखिम बढेको हो ।
दुई महिना देखि परेको खाल्डाखुल्डी का कारण दुर्घटना सय प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालयको तथ्याँकले देखाएको छ । सडकमा रहेका खाल्डा खुल्डी त्यसमा पनि पानी जम्ने भएका कारण सवारी साधनहरु बढि दुर्घटनामा पर्ने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले बताए । तत्काल खाल्डा खुल्डी पुर्न आफुले सडक डिभिजन कार्यालय र नगरपालिका लाई अनुरोध गरेको समेत जानकारी दिए ।
देबचुली , कावासोती, दुम्किबास, अरुणखोला, दाउन्ने, बर्दघाट, सुनवल बजारमा हजारौं ठुल्ठूला खाल्टा बनेका छन् । राजमार्गमा खाल्डाले गाडी हिँडाउनै नमिल्ने अवस्था छ भने मुख्य राजमार्गमा बाटो काट्न समेत पैदल यात्रुलाई समस्या रहेको स्थानीय गौरीशंकर न्यौपाने बताए ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले डिभिजन सडक कार्यालय बर्दघाटलाई पटक पटक टेलिफोन गरी समस्याको समाधान खोज्नका लागि बोलाउँदा पनि अटेर गर्दै आएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कार्कीले तत्काल सडक पुर्ने सडक ले आश्वासन दिएको समेत जानकारी दिए । कुनै पनि राजमार्गमा खाल्डा २४ घण्टाभित्रै पुरिसक्न पर्ने सडकको नियममा ब्यबस्था भए पनि यस्ता नियमको सडक डिभिजन कार्यालयले उल्टै पँगु बनाईदिएको यातायात ब्यबसायी मोहन पाठकले बताए ।
सडकका ईन्जीनियर शिब खनालले बुटवल नारायणगढ सडक खण्ड अब निर्माणको तयारीमा रहेकाले मर्मत तर्फ सडक डिभिजनले खासै ध्यान नदिए पनि सडकको मर्मत भने थालिने वताएका छन् ।