सप्तरी, साउन ३२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यू भएको छ। सप्तरीको कञ्चनरूप नगरपालिका ११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको तथा अन्य तीन जना घाइते भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।
मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन । लामो समय स्थानीय रेडियोको स्टेशन प्रमुख समेत रहेका अधिकारी पछिल्लो समय लगअन अनलाइन मिडिया सञ्चालन गर्दै आएका थिए । तिलोत्तमा नगरपालिकाबाट आगामी असोज महिनामा गर्न लागिएको लगानी सम्मेलनको प्रचारप्रसारको लागि गएको टोलीसँगै पत्रकार अधिकारी पनि गएका थिए । उक्त टोलीको एउटा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका थिए ।
प्रहरीका अनुसार जीपमा सवार अन्य तीन जना घाइते रहेका छन्। घाइते हुनेमा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल, तिलोत्तमा वडा नं १ का अध्यक्ष तामानाथ पाण्डे र जीप चालक रहेको र उहाँहरूको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।