स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले २०७३ फागुन २७ गतेको निर्णयवाट साविकका छ वटा गाविस चापकोट, रत्नपुर, कुवाकोट, साँखर, सेखाम, पकवादी र मल्याङ्कोटलाई एकिकृत गरी चापाकोट नगरपालिका गठन भएको हो । यस नगरपालिकाका हाल १० वटा वडा रहेका छन् । भौतिक पूर्वाधार सामान्य रहेको यस नगरपालिका विश्वको एकमात्र शालिग्राम पाईने कालिगण्डकी नदिको तटमा रहेको छ । सांस्कृतिक तथा पर्यटकीय सम्भावना रहेको चापाकोट नगरपालिकाको सडक यातायात लगायतका पूर्वाधार विकासको पर्खाइमा रहेको छ । २०७४ साल वैशाखमा भएको निर्वाचनले शिवकुमार गिरीको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिले अहिले चापाकोट नगरपालिकाको विकास गरिरहेका छन् । नगरपालिकाले चालु वर्षको नीति तथा कार्यक्रममा समतामुलक समाजको निर्माण मार्फत सामाजिक न्याय कायम गरि वितरणात्मक न्याय आजको आवश्यकता हो, विकासका हरेक चरणमा सहभागितात्मक निर्णय प्रणाली अपनाउनु लोकतन्त्रको मुलभूत चरित्र पनि हो भन्दै यस नगरपालिकाले वडावाट छनौट भई आएका योजनालाई प्राथमिकता र आवश्यकताका आधारमा समानुपातिक, समावेसीकरण र सहभागितामुलक विकासलाई प्रथमिकता दिर्दै समृद्धिको अयिानमा होमिएको छ । प्रस्तुत छ यिनै विषयमा हिमदुत डक.कमका प्रधान सम्पादक प्रदिप कोइरालाले चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरी संग विभिन्न विषयमा गरेको कुराकानी
आर्थिक विकासमा चापाकोट नगरपालिकाको भूमिका
चापाकोटको निर्वाचन पछि हामीले निर्वाचनका वेला गरेको घोषणा र यहाँका नागरिकले गरेको अपेक्षा बमोजिम परिवर्तित समय संगै अहिले यस नगरपालिकाकले यहाँका नागरिकको समृद्धि र सुन्दर भविष्यको आधार तयार गर्ने कामनै हाम्रो मुल कार्यभारको रुपमा लिएका छौ । स्थानीय स्रोत र नेपाल सरकारवाट प्राप्त अनुदानको उच्च परिचालन गर्दै आधारभूत आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक पूर्वाधारको विकासमा लागि परेका छौं । यस नगरपालिकाले पहिलो प्राथमिकतामा नगर क्षेत्र भित्र रहेका सडक र कृषिमा जोड दिएका छौं । कृषिमा चापाकोट नगरपालिकालाई आत्मनिर्भर बनाउन ठूलो परिणाममा आलु खेतीलाई जोड दिएका छौ । यसका अलवा भुइकटहर खेती, सुन्तला, कागती खेती निर्णय गरेर कार्यन्वयनको चरणमा छौं । अन्य पूर्वाधारको क्षेत्रमा नमुना वस्ती विकास, चापाकोटको शहरी विकास, र उत्पादनमा जोड दिएका छौ ।
चापाकोट नगरपालिकाको बजेटको अवस्था
चापाकोट नगरपालिकाको गत असार १० गते नगरसभावाट स्वीकृत बजेट अनुसार पुँजीगत र वित्तिय व्यवस्थाको रकम समेत गरी कुल ४६ करोड ५२ लाख ५७ हजार रहेको छ । जसमा चालु तर्फ ३० करोड ९३ लाख ९५ हजार एक सय १८ र पुँजीगत तर्फ १३ करोड ५८ लाख ६१ हजार आठ सय ८२ रहेको छ ।
कृषि क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा राखिएको छ चापाकोटको कृषि तथा पशुपंक्षीको क्षेत्रमा उत्पादनलाई जोड दिएर गत वर्ष ४० लाख र यो वर्ष एक करोड विनियोजन गरेको छ । गत वर्षको बजेटवाट अण्डामा आत्मनिर्भर गराउने, वंगुरपालन, लगायत लोपन्मूख समुदाय माझी, कुमाललाई लक्षित गरी उनीहरुको आर्थिक आय आर्जन उकास्ने खालका कार्यक्रमहरु गरेका थियौ । चापाकोटमा अन्दाजी दुई सय घर परिवार रहेका छन् । उनीहरुलाई नगरपालिकाले क्षमता अभिवृद्धिका तालिमहरु सन्चालन गरी उनीहरुलाई सक्षम वनाउन प्रयत्न गरिराखेका छौं । उनीहरुलाई घर निर्माणका लागि आर्थिक सहयोग, सिलाई वुनाइ तलिम जस्ता कार्यक्रम गरिएको थियो । यस वर्ष पनि उनीहरुलाई लक्षित गरेर विभिन्न खालका आय आर्जन र आत्मनिर्भर हुने खालका कार्यक्रमहरु सन्चालन गरिने छ ।
पूर्वाधारको क्षेत्रमा सडकलाई प्रमुख प्राथमिकतामा राखेका छौं । कृर्षिमा धानको विउ, कागती, सुन्तलाका विरुवा वितरण गरेका छौं । कृषिमा व्यवस्थि तगर्न नगरपालिकाले तिन क्षेत्रमा क्लस्टर छुट्याएर नगरापालिकाको वाड नं १, २ ३ र ४ मा कागतीखेती लगाउने, सेखाम सुन्तला, चापाकोटमा आलु खेतीलाई प्राथमिकता दिइएको छ । आलु खेतीका लागि प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गरिदिने आश्वासन पाइएको छ । कोल्ड स्टोरका लागि प्रदेश सरकार संगको लागत सहभागिताका लागि ३० लाख रुपैंया नगरपालिकाले समेत विनियोजन गरेका छौं ।
आन्तरिक स्रोतको अवस्था
साविकका गाविसलाई जोडेर नगरपालिका वनाएको हो । भौगोलिक हिसावले र सडक पूर्वाधारका हिसावले राजमार्गवाट निकै टाढा रहेको यस नगरपालिका अत्यान्त कमजोर हिसावमा रहेको नगरपालिका हो । हामी संग ऐतिहासिक तथा पौराणिक महत्व वोकेका सम्पदाहरु छन् । यस्ता सम्पदाहरुको संरक्षण र पर्यटकीय सम्भावनाका रहेका क्षेत्रहरुको विकासमा हामी अगाडी वढिरहेका छौ । कालिगण्डकी किनारमा रहेको टारलाई व्यवस्थि तगर्ने गुरुयोजना अगाडी सारेका छौ व्यवस्थित बसोवास, बजार क्षेत्रको विकास र गाँउलाई उत्पादन संग जोड्ने हाम्रो पहल रहेको छ । यति गर्न सके नगरको आन्तरिक आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्य र योजनाका साथ अगाडी वढिरहेका छौं ।
जनताको बिकास प्रतिको उत्साह
जनताको उत्साह र उमंग निश्चितरुपमा वढेको छ । नगरको विकासमा नगरपालिकाले ध्यान दियोस, विगतमा भौगोलिक हिसावले दुर्गममा रहेका नागरिकलाई सरकारी काम काजमा असहज थियो अहिले आफ्नै ठाउवाट सम्पूर्ण कामहरु गर्न पाउदाको उत्साह छुट्टै खालको छ । अहिले नगरवासीले दैनिक कामकाजका अलावा शिक्षा, स्वास्थ्य र रोजगारीको अपेक्षा गरिरहेको महशुस गरिराखेको छु । नागरिकहरु न्यूनतम आवश्यकताका पूर्वाधार निर्माण गर्न नगरपालिकासंग हातेमालो गरिराखेका छन् । सामान्यतया कुलो, पुल पुलेसा, वाटो सफाइ, ग्राभेल सम्मका कामहरुमा जनताले नगरपालिका संग सहकार्य गरिराखेका छन् ।
नागरिकको अपेक्षा र नगरपालिकाले खेलेको भूमिका
स्वभावत नागरिकले हामिवाट ठूलो अपेक्षा गरिराखेका हुन्छन, तथापी हामीले यस नगरपालिकाको संस्थागत र योजनावद्ध रुपमा थालेका दिगो विकासको लक्ष अनुरुप गरेका कामहरु उपलव्धीमूलक छन् । यसमा नगरवासीको साथ र समर्थन पाएका छौं ।
हामीले नगरपालिकाको स्रोत र साधनका आधारमा भरपुर मात्रामा उपयोग गरिराखेका छौं । हालसम्म झण्डै ९० प्रतिशत जनताकै विकास निर्माणमा लगानी गरिराखेको छौ । जनताको न्यूनतम आवश्यकतालाई मध्येनजर गर्दै घर नहुनेका लागि घर निर्माणमा, छाना छाउन नसकेकालाई जस्ता पाता, आर्थिक विपन्न भएका परिवारलाई औषधी उपचार देखि शैक्षिक छात्रवृत्ति सम्मका कामहरुमा नगरपालिकाले जनताको भावनालाई सम्वोधन गरिराखेका छौं । हामी निष्ठा र इमान्दारी गुमाएका छैनौ त्यो जनताको ठूलो अपेक्षा रहेको हामिले महशुस गरेका छौ ।
स्थानीय सरकारको चुनौती
म नगर प्रमुखमा निर्वाचित भइसकेपछि नगर प्रमुखको हैसियतमा वोल्दा सरकारको आर्थिक ऐन अनुरुप कतिपय कामहरु गर्दा हामीले चाहेर पनि गर्न नसक्ने कुराहरु छन । अर्को अहिले सरकारको प्रतिपक्ष दलको हिसावले पनि हामीलाई काम गर्दा असहज हुने कुरा त एकातर्फ छदैछ । यद्दपी, नेपालको संविधानले प्रदत्त अधिकार अनुरुप काम गर्दा कहीं कतै सरकारी निकायवाटै पत्राचार गरेर दुःख दिने काम भइरहेका छन् । संविधानले वाड कार्यालयले गर्ने प्रमाणीकरण वाहेकका सबैखाले प्रमाणीकरण नगर प्रमुखले गर्ने व्यवस्था उल्लेख गरेको छ । यी कामहरु नगर प्रमुखका हिसावले गर्दा जिल्ला प्रशासन कार्यालयवाट पत्र आएको र आफूले संविधान प्रदत्त अधिकार वाहेक कार्य नगरेको उत्तर दिनु परेको समेत अनुभव छ । स्थानीय तहको नीति नियम र कानुनको अध्यायन नगर्दा अन्यौलतामा परेको यथार्थ हामीमाझ अझै छ । अर्को तर्फ तत्कालिन गाविसमा रहदै आएका जनतालाई नगरपालिका हुँदा कस्ता– कस्ता सेवा पाउछन भन्ने अन्यौलता अझै कायम छ । स्थानीय तहमा जनप्रतिनिधिको भूमिका र महत्वको वारेमा नगरवासी प्रष्ट वुझाइ छैन । तसर्थ यही कुराहरुमा हामिले नगरवासीलाई वुझाउनु प्रमुख चुनौतिको विषय रहेको छ ।
शुसाशन र प्रशासनिक सुधार
चापकोटको शुसाशनमा आफू अत्यान्तै गम्भिर रहेका छौ । सम्पूर्ण कामहरु पारदर्शी गरेर जनताको विकासमा जुटेका छौ । नागरीकले नगरपालिकावाट सम्पादन हुने कुनै पनि काममा दुःख कष्ट नपाउन भन्ने हाम्रो धारणा छ । उनीहरुको काम सजिलो संग गर्नका लागि चनाखो छौं । शान्ति सुरक्षाका विषयमा चापाकोटमा सुधार खासै नराम्रो भन्न मिल्दैन ।
न्याय सम्पादनको अवस्था
न्याय सम्पादनमा हाम्रो उपमेयर स्वास्थ्यका कारण काठमाण्डौमा उपचाररत भएका कारण न्यायीक क्षेत्रको काममा सुधार गर्न सकेका छैनौं । हाल आउने उजुरीहरु नगरपालिका भित्रका मेलमिलापकर्तालाई वाडमै खटाएर उनीहरुकै जिम्मामा मेलमिलाप गराउने काम भइरहेको छ ।