–तुलसी प्रवास
आफ्नै भाषा, धर्म र संस्कृति भएका नेपालका आदिवासी जनजातिहरूमा दुरा समुदाय नेपालका अल्पसङ्ख्यक जनजातिमध्ये एकमा पर्छन् । दुरा समुदाय सामाजिक, आर्थिक, शैक्षिक एवम् राजनीतिक तवरले तुलनात्मक रूपमा पछि परेकाले विकासको दौडमा पनि अन्य जातिका तुलनामा पछि परेको देखिन्छ । नेपाल सरकारले दुरा जातिलाई नेपालका ५९ जनजातिहरूको सूचीमा सूचीकृत गर्नुका साथै सीमान्तकृत जनजाति भनेर वर्गीकरणसमेत गरेको छ । ‘नेपाली बृहत् शब्दकोश’ ले दुरा जातिको परिचय यसरी दिएको छ – ‘नेपाल अधिराज्यभित्रको लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै बसोबास गर्दै आएको, आफ्नै भाषा र संस्कृति भएको र त्यसलाई बिस्तारै भुल्दै गएको एक जाति, नेपालको एक अल्पसङ्ख्यक जाति’ । सरकारी मानव विकास सूचाकाङ्क अनुसार, नेपाल आदिवासी जनजाति महासंघले सीमान्तकृत समुहको १९ औँ श्रेणीमा यस जातिलाई राखेको छ ।
भारतमा मुसलमानहरूको आक्रमण र अत्याचारबाट बच्न नेपाल प्रवेश गरेका राजपूत नारी र उनका नोकरहरूको समागमबाट दूरा जातिको उत्पत्ति भएको मानिन्छ । यस जातिको मुख्य थातथलो लमजुङको दुरा डाँडालाई मानिएको छ । यसो भनिए तापनि यो जाति लमजुङको ठुलो स्वाँरा, हाँडी खोला, नेटा, तुर्लुङ, नाल्पो, कुन्छा र तनहूँको दमौली आसपासका क्षेत्रमा समेत बस्ने गरेको पाइएको छ । वि.सं २०६८ सालको जनगणना अनुसार तनहुँको व्यास नगरपालिकामा दुरा जातिको जनसंख्या ६५४ देखिएको छ । यस नगरपालिकाको वडा नं १, ४, ६ र ११ का रामथुम्की, चिसापानी, लामीडाँडा लगायतका गाउँहरूमा यस जातिको बसोबास रहेको छ । नेपालको ऐतिहासिक घटनाक्रममा चौबीसे राज्यकालमा लमजुङमा वर्तमान शाहवंशको स्थापना गर्न विशेष योगदान गर्ने पाँच पूर्खा (खजे दुरा, माघे दुरा, शुकराज दुरा, चामु दुरा र कुश्माकर घिमिरे)मध्ये चार जना दुरा जातिका थिए । यी पाँच जनाको मूर्ती अहिले पनि लमजुङको सिन्दुरे ढुङ्गामा देख्न सकिन्छ । दुरा जातिको उदगमबारे हालसम्म आएका विचार तथा दृष्टिकोणहरू नितान्त अपूरो र एकाङ्गी देखिन्छ । त्यसकारण यस सम्बन्धमा समाजशास्त्रीय एवम् मानवशास्त्रीय कोणबाट गहन अध्ययन हुन आवश्यक देखिन्छ ।
दुरा जातिको जनसङ्ख्या निरन्तर रूपमा घट्दै गएको देखिन्छ । बूढापाकाको अनुमान थियो, लमजुङमा मात्र दुराहरूको जनसङ्ख्या १० हजारभन्दा बढी छ । तथ्याङ्कले बूढापाकाको अनुमानलाई गलत साबितमात्र गरेन, दुरा जातिको जनसङ्ख्या निरन्तर रूपमा घट्दै गएको डरलाग्दो तस्बिर पनि अगाडि राखिदिएको छ । दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले २०५४ सालमा लिएको जनगणना अनुसार दुरा जातिको कुल जनसङ्ख्या ५ हजार ६ सय ७६ मात्र रहेको पाइयो । नेपाल सरकारले २०५८ सालमा गरेको जनगणनामा यो सङ्ख्या घटेर ५ हजार १ सय ६९ मात्र कायम रह्यो । नेपाल सरकारले पछिल्लो पटक अर्थात् २०६८ सालमा लिएको जनगणनामा दुरा जातिको जनसङ्ख्या केही बढेर ५ हजार ३ सय ९४ पुगेको देखिन्छ । छ हजार भन्दा बढी दुरा भएपनि वक्ताको सङ्ख्या न्यून छ । यूवाले मातृभाषा बोल्न छाडेर नेपाली बोल्छन् । पढ्ने माध्यम नेपाली भएकोले नयाँ सन्ततिमाआफ्नो भाषाको ज्ञान शुन्य छ । भाषा जान्ने वक्ता पनि आफ्ना केटाकेटीसँग नेपालीमै कुरा गर्छन् । त्यसैले पाका मानिसमा भाषा सिमित छ । वृद्ध सोमा दुरा उदाहरणीय पात्र हुन् । भाषाप्रति माया र संरक्षण गर्ने इच्छा भएपनि केटाकेटीमा भाषा सिकाई नहुँदा उनीहरू चिन्तित छन् । प्रयोजनमा नेपाली प्रयोगगर्छन् । भाषा लोप हुनेक्रम बढ्दो छ । दुराले आफ्नो मातृभाषालाई ‘दुरा कुरा’ भन्न रुचाउँछन् । २०५८ को जनगणना अनुसार, दुराको सङ्ख्या ५,६६१ छ । भाषिक गणनानुसार ३३९७ जनाले भाषा बोल्ने तथ्याड्ढ भएपनि वक्ता कम छन् । दुरा भाषा, भोट–बर्मेली भाषा परिवारमा पर्छ । भोट–बर्मेली परिवारको हिमाली–पूर्वेली उप–समूहमा समावेश छ । हड्सनका अनुसार सार्वनामिक भाषा हो । भाषाविद् भुर्म र क्रिस्टनले पनि दुरा भाषालाई लोपोन्मुखमा समावेश गरेका छन् । दुरा समुदायका मानिसहरू एकआपसमा खस भाषामा बोल्दा दुरा भाषाका शब्द मिसिएर आउने गरेको पाइन्छ । जस्तै ः गुमा (माइजू), छिम् (नेर), लाखु (बाँदर), माकुली (इन्द्रेणी), मूसी (सानी आमा), कोर्जे (सरसामान, दस्तुर), पाही (दूरी) आदि ।
मंगोल मूलका जातिसमूहभित्र पर्ने यो जाति स्वभावमा शान्त, सोझो तथा वीरोचित भावले सम्पन्न तथा व्यवहारमा इमान्दार र सरल मानिन्छ भने शारीरिक बनावटका दृष्टिले पनि अरुबाट सहज छुट्याउन सकिने खालको देखिन्छ । मंगोल किराँत रक्तको छाप निकै परेको मानिने यस जातिका मानिसहरू शारीरिक रूपमा बलिया र हृष्टपुष्ट देखिन्छन् । होचो कद, थेप्चो मंगोलियन नाच, ठूलो चाक, सानो टाउको, चेप्टो ढाड, बाटिएका पिँडौँला, ठूलो हाड र पुरुषहरूमा पनि निकै कम दाह्रीजुँघासहितको शान्त चेहरा यो जातिका प्रमुख शारीरिक पहिचानहरू मानिन्छन् ।
दुरा जातिको समग्र सामाजिक तथा सांस्कृतिक पक्षलाई यसप्रकार चर्चा गरिएको छ :
अर्थ संस्कृति
जीविकोपार्जन तथा आयआर्जनका लागि मानिसले गर्ने आर्थिक कर्महरूको पुस्तौली अनुशरणले कुनै पनि जातिको अर्थ संस्कृतिको निर्माण गर्दछ जसलाई त्यस जातिको भूगोल, शिक्षा प्राप्तिको अवसर, जातीय स्वभाव आदि विभिन्न कुराहरूले प्रभाव पार्दछन् । खेतीपाती गर्नु एवम् शिकार गर्नु दुरा जातिको परम्परागत पेशा मानिन्छ । ‘सुगौली सन्धि’ पछिको कालखण्डमा अरु जातिका जवानहरूजस्तै दुराहरू पनि विदेशी सेवामा भर्ती हुने गरेको पाइन्छ, जुन आजपर्यन्त कायमै छ । प्रथम तथा दोस्रो विश्वयुद्धमा देशका अन्य जातिका सैनिकहरूजस्तै दुराहरू बेलायती सेनाको तर्फबाट लडेको देखिन्छ । प्राप्त अभिलेख अनुसार दलभीम दुरा त्यस्ता दुराहरूमध्ये एक हुन् जसले प्रथम विश्वयुद्धमा लडेर बहादुरी प्राप्त गरेका थिए । विदेशी सेवा भर्ती हुनुभन्दा अघि दुराहरू भारतका मुगल सम्राटका दरबारमा काम गर्थे भन्ने जनश्रुति छ तर यसलाई पुष्टि गर्ने कुनै दरिलो आधार भेटिंदैन । अहिले आएर दुराहरू आधुनिक पेशा व्यवसाय र शिक्षाको क्षेत्रमा समेत अग्रसर हुँदै गएको पाइएको छ । उनीहरूको जविनशैली समयानुसार परिवर्तन हुँदै गएको छ ।
धर्म संस्कृति
दुराहरू बढी संख्यामा हिन्दु धर्माबलम्वीहरू नै रहेको पाइन्छ । यसबाहेक केही दुराहरू बौद्ध धर्मको पनि अनुशरण गर्दछन् । यहाँका अधिकांश दुराहरू हिन्दूहरूले पूजा गर्ने देवी देवताहरूकै पूजा गर्दछन् भने यिनीहरूका आफ्नै जातीय चालचलनहरू, चाडपर्वहरूसमेत रहेको पाइन्छ । दुराहरू प्रकृति, देवमूर्ति, आत्मा र पारलौकिक शक्तिको पनि पूजा गर्दछन् । तिनीहरूले शिकारका देवता र देवीहरूको समेत पूजाआजा गरेको पाइन्छ । पछिल्लो समयमा १३ औँ शताब्दीदेखि दुराहरू बुद्ध धर्मतिर पनि संलग्न हुँदै गएको पाइएको छ । विशेष गरी गुरुङहरूको सम्पर्कमा आएपछि उनीहरू बौद्ध र बोन धर्म मान्न थालेको पाइएको छ ।
पर्व संस्कृति
यस क्षेत्रका दुराहरूले तीज, दशै. तिहार, साउने सक्रान्ती, जनै पूर्णिमा, कृष्णाष्टमी, पितृ औँसी, पुसे पन्ध्र, वसन्त पञ्चमी, चण्डी पूर्णिमा जस्ता हिन्दु पर्वहरूलाई साझा रूपमा नै उत्साहका साथ मनाउँछन् । पर्व मनाउने क्रममा दुराहरू आफ्ना चेलीबेटी, नातागोताहरू जम्मा गरी मीठामीठा परिकारहरू तयार गर्छन् र हर्षोल्लासपूर्वक सँगै बसेर खानपिन गर्दछन् ।
पूजा संस्कृति
यस जातिले वैशाख पूर्णिमाका दिन चण्डी देवीलाई कुखुराको बली दिएर चण्डी पूजा गर्दछन् । बैशाख महिनाको कुनै शनिबारको दिन दोबाटो वा चौबाटोमा पाठो वा कुखुराको बलि दिएर शनिश्चरे पूजा गर्दछन् । फागुन महिनाको कुनै मंगलबारका दिन पहाडको पहरामा बस्ने भँगेर देवतालाई पाठीको बलि दिएर भँगेर पूजा गर्दछन् । कार्तिक महिनाको अष्टमीका दिन उँधौली पूजा, चैत्राष्टमीका दिन उँभौली पूजा गर्दछन् । फागुन महिनाको कुनै मंगलबारका दिन भूमि वा पृथ्वीलाई पूजा गरी पाठोको बलि दिएर सिमेभूमे पूजा गर्दछन् । वैशाख महिनाको कुनै मंगलबारका दिन कुखुराको भोग चढाई बाटो छेक्ने पूजा गर्दछन् ।
कर्म संस्कार
यस जातिको परम्परागत मूल्य मान्यतामा आधारित आफ्नै कर्म संस्कार छ । यस क्षेत्रका दुराहरूले जन्म, छैठी, न्वारान, पास्नी, छेवर, घाँघर दिने, विवाह र मृत्युजस्ता घटनाहरूसँग सम्बद्ध कर्म संस्कारहरूलाई कुनैमा हिन्दू चलनअनुसार त कुनैमा आफ्नै जातीय चलन, विधि वा प्रथाअनुसार सम्पन्न गर्ने गरेको पाइन्छ ।
जन्मसंस्कार
दुरा समुदायको जन्म संस्कार अन्य जातिको भन्दा फरक छ । यस जातिले गर्भ अवस्थामा श्रीमान् र श्रीमती दुबैले प्राणी हत्या गर्दैनन् । बच्चा जन्मिएको पहिलो दिन छोरा भए– कुखराको भाले र छोरी भए– कुखराको पोथी काटिन्छ । त्यसो गर्नुको कारण छोरा कि छोरी जन्मियो भन्ने संकेत भएको पूर्खाहरूको भनाइ छ । आकस्मिक समय पर्दा तीनैँ दिनमा पनि बच्चाको न्वारन गर्न सकिन्छ । बच्चा जन्मिएको छैठौँ दिनमा जात कर्म गरिन्छ । यस दिनलाई प्रकृतिमाताले बच्चाको भाग्य लेख्ने दिनका रूपमा मनाइन्छ । बच्चा जन्मिएको सातौँ, नवौँ वा एघारौँ दिनमा लामाद्वारा बच्चाको न्वारन गरिन्छ । बच्चा जन्मेको समय, दिन र मिति हेरेर लामाद्धारा बच्चाको राशीअनुसार नाम राखिन्छ । बाजेबज्यैद्वारा बच्चाको हात, गोडा र घाँटीमा रख्खे डोरी लगाइन्छ । छोरा भए– काँधमा धनुषवाण बनाएर भिराइन्छ । छोरी भए–केहीसमय डोकोमा राखिन्छ । उमेर वृद्धिसँगै सिकार गर्न, परिवारलाई सुरक्षित राख्न धनुशवाण भिराइएको र सिकारलाई संकलन गर्न र आवश्यक सामान राख्न डोको भिराइने गरिएको जनविश्वास रहिआएको छ ।
पास्नी
दुरा जातिको अर्को महत्वपूर्ण कर्म संस्कार पास्नी हो । यस जातिमा छोरा भए–छैठौँ र छोरी भए–पाँचौ महिनामा पास्नी गर्ने चलन छ । धर्मशास्त्र अनुसार शुभसाइत पारेर यस जातिका बच्चाको पास्नी गरिन्छ । बच्चालाई ठोस खाना खुवाउन शुरु गर्ने दिनका रूपमा पास्नीलाई लिने गरिन्छ । पास्नी गर्दा बाजे वा बज्यैको हातबाट भात खुवाइन्छ । पास्नी गरिएको बच्चालाई नयाँ लुगा लगाई मिठा–मिठा खाना खुवाइन्छ । त्यतिबेला आफन्तलाई आमन्त्रण गरी भोज समेत खुवाइन्छ ।
छेवर
यस जातिको अर्को महत्वपूर्ण कर्म संस्कार छेवर हो । यस जातिमा छेवर गर्दा मामाको महत्वपूर्ण भूमिका हुन्छ । ब्राह्मण÷क्षेत्री जातिको ब्रतबन्धमा मामाले कपाल खौरिने चलन भए जस्तै
दुरा जातिमा पनि मामाद्वारा भान्जाको छेवर गरिन्छ । छेवर गर्दा भान्जाका परिवारबाट मामालाई निमन्त्रणा गरिन्छ । शुभ साइत हेरेर पाँचाँै, साताँै र नवौँ मध्ये कुनै एक बर्षमा छेवर गरिन्छ । छेवर गर्दा मामाद्धारा भान्जाको कपाल काटिन्छ । मामाद्वारा काटिएको कपाललाई फूल र रुखको फेद, ढुङ्गा मुनि वा कसैले नकुल्चने ठाउँमा राखिन्छ । कपाल काटिसकेपछि मामाद्धारा ल्याइएको टोपी, जन्तर र बाला भान्जालाई लगाइन्छ । छेवर नगरेसम्म दुरा जातिको बालकले बिहे र पितृ–क्रिया कर्म गर्न नपाइने चलन छ । छेवरकै अवसरमा पुटपुटे दिने पनि चलन छ । पुटपुटे भन्नाले आशीर्वाद दिने चलन भन्ने बुझिन्छ । छोरा जन्मिएको खुशीमा आमा–बालाई पुटपुटे दिइन्छ । पुटपुटे गर्दा बाबुलाई साफा वा टोपी र आमालाई मिझारो दिइन्छ । आमन्त्रित आफन्तलाई भोज खुवाएर बिदा गरिन्छ ।
त्यसैगरी दुरा जातिमा छोरीलाई गुन्यूचोली दिने चलन पनि संस्कारकै रूपमा मान्ने गरिन्छ । परिवारबाट आफ्ना छोरीलाई रजस्वला नहुदै गुन्यूचोली दिइन्छ । नवौँ, एघारौ र तेह्रौँ मध्ये कुनै एक बर्षमा शुभ साइत हेरेर गुन्यूचोली दिइन्छ । गुन्यूचोलीको साथमा घलेक, मिझात्रो, जन्तर, चुरी र पोते पनि दिने चलन रही आएको छ ।
रिपा
यस जातिका कर्मसंस्कारमध्ये रिपा लगाउनु अर्को प्रमुख संस्कार हो । रिपा भनेको एक किसिमको रक्षाबन्धन हो । जन्मिएको छैठाँै दिनदेखि मृत्यू पर्यान्तसम्म रिपा लगाइन्छ । वर्ग फेरिएसँगै बषैपिच्छे लामाद्वारा रिपा फेरिन्छ । रिपाको परिष्कृत रूप जन्तर हो । विघ्न बाधाबाट छुटकारा मिलोस, भूत, पिसाच, बोक्सी, डाइने नलागून, शत्रु नहून, सकारात्मक सोचको विकास होस्, आफूलाई मन नपर्ने व्यवहार अरुलाई नगरुन, सर्वोत्तम हितको काममा अग्रसर होऊन् भन्ने हेतुका कारण छोरा–छोरीको कर्मसंस्कार गरेपछि रिपा लगाउन शुरु गरिन्छ ।
विवाह
दुरा समुदायको बिहे संस्कार नौलो प्रकृतिको छ । यस जातिमा मामा चेली अर्थात् फुपु–माइती चेली बीच बिहे हुन्छ । मातृसत्तात्मक समाज भएकाले फुपूचेला र मामाचेलाका बीचमा पहिलो हकको विवाह हुने र त्यसो नभएमा मात्र अन्यत्र विवाह हुने चलन यस जातिमा रहेको पाइन्छ । मामा चेलीसँग हुने बिहेलाई हकदावी बिहे भनिन्छ । बदलिँदो परिवेशमा यसलाई आफन्ती बिहे पनि भनिन्छ । दुरामा प्रेम, चोरी, र भागी बिहे गर्ने चलन छ । मागी बिहे वैधानिक मानिन्छ । बिहे पक्का गर्ने प्रक्रियालाई साइपाटा भनिन्छ । केटी मागेर साइपाटा गर्दा केटा पक्षले केटीपक्षलाई एक ठेकी दही, एक पुङ (रक्सी राख्ने काठको भाँडो) र रोटीहरू दिनुपर्दछ । विवाहमा केटा पक्ष र केटी पक्षको खर्च केटा पक्षबाट नै व्यहोरिन्छ । बिहे पक्का गर्ने सहयोगी अर्थात् कारबारेलाई कलिया भनिन्छ । बिहे पक्का गर्दा केटा–केटीको वर्ग मिलापलाई ख्याल गरिन्छ । कलिया मार्फत रक्सी, ढोसा, रोटी, दही र कुखुराको भाले लिएर केटीको घरमा गइन्छ । मगनीलाई चेली पक्षले स्वीकारे मात्रै बिहे पक्का भएको मानिन्छ । बिहे गर्न स्वीकारे, जन्ती र बाजा ल्याउने÷नल्याउने निर्णय गरिन्छ । विवाहमा दुलहा–दुलहीलाई दुरा परम्परा अनुसारको परिहन लगाइन्छ । दुलहालाई कालो टोपी, भोटो, इष्टकोट, जन्तर, कछाड, जुत्ता र गहना लगाइन्छ । दुलहीलाई कण्ठ, चोली, घलेक, मिझात्रो, चुरी, पटुका, जन्तर, गुन्यू र गहना लगाइन्छ । दुलाहाको शीरमा साफा लगाइन्छ । दुलहाको साथी, दुलहाको बाबु र कलियाको शीरमा साफा लगाइन्छ । साफा आफ्नै घरबाट लगाइन्छ । सेतो टिका, फूल–माला लगाइन्छ । गच्छे अनुसार पैसा दिइन्छ । जन्ती लगायत आफन्तलाई फूल–टिका लगाइन्छ । दुलहा अनमाउँदा, भञ्ज्याङ्ग–चौतारीमा पुग्दा, दुलही घर नजिक पुग्दा, दुलही अनमाउँदा र भित्र्याउँदा बन्दुक पड्काइन्छ ।
जन्ती दुलहीका घरमा पुगिसकेपछि दुलही घरका आफन्तद्धारा जन्तीहरूलाई स्वागत गरिन्छ । दुलहीकी भाउजुद्धारा दुलहालाई बस्न आग्रह गर्दै कम्मल बिछ्याइन्छ । बिछ्याइएको कम्मलमा दुलहा–दुलहीलाई बसाइन्छ । आफन्तबाट दुलाहा दुलहीलाई सेतो टिका, फूल लगाइन्छ । गच्छे अनुसार पैसा दिइन्छ । वैवाहिक जीवनको शुभकामना दिइन्छ । घरमा देवी–देवताको पूजा गरिन्छ । दुलहाबाट ध्वजा चढाइन्छ । त्यो दिनदेखि ज्वाइँलाई मर्दा–पर्दाका पुरोहित बनाइन्छ ।
दुलहीका आफन्तद्धारा दुलाहालाई कन्यादान गरिन्छ । दुलहीकी बहिनीद्वारा बाटो छेकिन्छ । दुलहीकी बहिनीलाई दुलहाबाट केही रकम दिइन्छ । लोकन्तीद्वारा कन्यालाई दुलाहाको घरसम्म पु¥याइन्छ । दुलहाका आमा–बाबा र आफन्तद्वारा दुलही भित्र्याइन्छ । भित्र्यााउनेक्रममा घरको ढोकामा बासेको भाले काटिन्छ । लोकन्तीलाई टिका, गछ्य अनुसार कोशेली दिएर बिदा गरिन्छ । केही दिनपछि सम्दी–सम्दिनी भेट्ने चलन छ । सम्दी–सम्दी बीच साफा र सम्दिसम्दिनी बीच मिझात्रो आदानप्रदान गरिन्छ ।
यस जातिमा प्रेम, चोरी, र भागी जुनसुकै बिहे भए पनि समय अनुकुल पारेर आफन्तद्वारा टिका थाप्ने चलन रहेको छ । लोग्ने र स्वास्नीका बीचमा सम्बन्ध राम्रो नभए दुवै पक्षका भद्र भलादमी, भाइखलक, अभिभावकको छलफलबाट सिन्कापाङ्गो (सम्बन्ध विच्छेद) गर्न पनि सकिन्छ । छलफलबाट तोकिएको जरिवाना तिरेर सम्बन्धविच्छेद भएका महिला÷पुरुषले पुनः बिहे गर्न सकिन्छ । लोग्ने वा स्वास्नी कुनै एकको मृत्यृ भए, जीवित लोग्ने वा स्वास्नीलाई दोस्रो बिहे गर्न छुट दिने चलन पनि यस जातिमा रहेको छ ।
मृत्यु
दुरा समुदायको मृत्यू संस्कार पनि अनौठो छ । यस जातिमा मानिस मरिसकेपछि मृत शरीरलाई सुरक्षितसाथ घरबाहिर राखिन्छ । उक्त दिन मृतकको घरको पिँढी उल्टो लिपिन्छ । चरेसको थालमा तेल लिएर छोरीबेटीले मृतकको निधारमा लगाउँदछन् । पछि सो थाल छोरीले नै लैजाने चलन छ । घरका सदस्यद्धारा मृतकको खुट्टातर्फ पिउरी दिइन्छ । मामाली वा ससुरालीका सदस्यद्वारा टाउकोतर्फ पिउरी दिइन्छ । त्यतिबेला एक माना चामल र पैसा समेत राखिन्छ । बिवाहित महिलालाई माइतिले र अबिवाहितलाई मामालीद्वारा पिउरी दिइन्छ । यस जातिमा मृतक पुरुष भए आयताकार र महिला भए त्रिकोणात्मक चिता वा चिहान बनाइन्छ । घरका सदस्यद्वारा मृतकको मुखमा र मामालीद्वारा खुट्टा तर्फ दागबत्ति दिइन्छ ।
काजकिरियाका बेला क्रियाकर्मीलाई पधँेरामा लगी मामालीद्वारा कपाल, दाह्री–जुङ्गा र आँखी भौँ काटिन्छ । क्रियाकर्मीलाई पानीले मात्रै नुहाएर एकसरो सेतो कपडा लगाइन्छ । क्रियाकर्मीलाई सजिव प्राणी छुन नदिने, नुन बार्ने, तामाको ताउलीमा भात पकाएर एक छाक मात्रै खाने, दिनहूँ नुहाउने, परालमाथी बस्ने र कम्मल ओढ्न दिइन्छ । कार्जे सम्पन्न गर्न आफन्तबाट एक माना चामल र दश रूपैयाँ संकलन गरिन्छ । छोरीबेटी वा माइतिद्वारा गहुँत ख्वाई क्रिया बसेको तीन वा तेह्रौँ दिनमा चोख्याइन्छ । क्रियाकर्मी लगायत परिवारका सदस्यलाई नुन छुवाइन्छ । मृतकका परिवारद्धारा १३ दिन, ३० दिन, ४५ दिन वा एक बर्षसम्म फूलटिका बारिन्छ । मामालीद्धारा टिका, टोपी, साफा र मिझारो ओढाएर फूलटिका फुकाइन्छ । मृतकलाई भारा नलागोस् भनी मामाली लगायत मलामीलाई मासु रहित खाना खुवाइन्छ । यसरी यस जातिको मृत्यु संस्कार सम्पन्न गरिन्छ ।
भेषभुषा
दुरा जातिको आफ्नै मौलिक भेषभुषा रहेको छ । पुरुषले कालो टोपी, भोटो, इष्टकोट, बाला, जन्तर, कछाड, जुत्ता लगाउँछन् । महिलाले चोली, घलेक, मजेत्रो, टिकेस, पटुका, पोते, चुरी, फूली, बुलाकी, कण्ठ, बाला, ढुङ्ग्री, जन्तर र गुन्यू लगाउँछन् । पुरुष जातिले दायाँतर्फ जन्तर लगाउँछन् भने महिलाले बायाँतर्फ जन्तर लगाउँछन् ।
मनोरन्जन संस्कृति
मनोरञ्जन संस्कृतिका दृष्टिले यो जाति निकै सम्पन्न जाति मानिन्छ । सती घाँटु, कृष्ण चरित्र, सोरठी, ठाडो भाका, स्यार्गा आदि दुरा जातिका महत्वपूर्ण जस्ता लोकसांस्कृति हुन् । भोजभतेर र रामरमितामा बढी समय खर्च गर्ने दुरा सुमदायको जीवनशैली लोकसांस्कृतिक निधिबाट सुसज्जित छ । पहिले पहिले दुरा समुदायका हरेक मानिस लोकसंस्कृतिको मर्मज्ञ मानिन्थ्यो । सात दिन, सात रातसम्म गीत गाउने र नाँच्ने गर्दा पनि नथाक्ने भनेर ख्याति कमाएका देउबहादुर दुराको चर्चा उहाँ यस धर्तीबाट अस्ताएको लगभग ७८ वर्ष बितिसक्दा पनि सेलाएको छैन । त्यसैगरी दुरा जातिको संस्कृतिका अर्का धरोहर हुन् –मनिराम दुरा । उहाँ देउबहादुर दुरा पछि यस जातिको लोकसंस्कृतिका धरोहर मानिनुहुन्थ्यो । हाल परलोक भइसक्नुभएका मनिराम दुराको नाम ठाडो भाका गीतमा अग्रपङ्तिमा आउँछ । यसका अतिरिक्त दुरा एवम् गुरुङ समुदायको मृत्युसंस्कारमा प्रचलित स्यार्गा (अर्घौं) नाँच्न जान्ने शिल्पीको रूपमा पनि उहाँको नाम श्रद्धापूर्वक लिइन्छ । भनिन्छ, उहाँले स्यार्गामा १८ ताल (द्यभबत) सम्म दिन सक्नुहुन्थ्यो । निकै प्रवीण मानिएको व्यक्तिले पनि अहिले ८–९ तालभन्दा बढी दिन नसक्ने अवस्था छ । बूढापाकाहरू भन्छन् । उनीजस्ता प्रतिभावान् व्यक्ति यस क्षेत्रमा आजसम्म जन्मेकै छैनन् । दुरा जातिको पहिचान बनेको ठाडो भाकालाई वर्तमान समयमा जोगाइराख्ने अर्का बहुप्रतिभावान व्यक्ति बुद्धिमान दुरा(धम्पु) हुन् । हरेका मेला, महोत्सव लगायत संस्कृति संरक्षणका लागि आयोजना गरिएका धेरै ठाउँमा उनको उपस्थिति महत्वपूर्ण मानिने गर्दछ । लोपोन्मुख तथा संरक्षणको पर्खाइमा रहेको संस्कृति
दुरा जातिको मौलिक संस्कृतिका रूपमा रहे पनि विशेष संरक्षणको पर्खाइमा रहेको तथा वर्तमान विकासका कारण लोपोन्मुख अवस्थामा पुगेको प्रमुख संस्कृति भनेको सोरठी हो । जसलाई यस समुदायले पाउँदुरे नाच, दुरा नाच पनि भन्ने गर्दछन् । त्यसैगरी लमजुङे ठाडो भाका, घाटु नाच, स्यार्गा, अर्घूँ आदि पनि लोपोन्मुख अवस्थामा पुगेका छन् । आधुनिक शिक्षाको विकासका कारण यस जातिले परम्परादेखि मान्दै आएका सांस्कृतिक सम्पदाहरूप्रति नयाँ पुस्ताको घट्दो चासो, अन्य संस्कृतिको प्रभाव आदिका कारण संस्कृति संरक्षणका लागि अघि सर्ने मानिसहरू पाउन धौधौ भइसकेको अवस्था देखिन्छ ।
लोकसंस्कृतिको क्षेत्रमा यस्तो गौरवमय इतिहास रचेको दुरा जाति अहिले आएर क्षयीकरणको अवस्थामा पुगेको छ । समयको बदलिंदो प्रवाहसँगै यी सांस्कृतिक निधिमा तीव्र ह्रास शुरु भएको छ । पुराना पुस्ताका प्रतिभाहरू संसार छाडेर जाँदैछन् । अनेक थरी नाँच र घाँटुका गुरुबाउ र पारखीहरू एकपछि अर्को गरी ढल्दैछन् । उनीहरूको प्रतिभा र सीप नयाँ पुस्तामा राम्ररी हस्तान्तरण हुन सकेको छैन ।
‘‘कुनै पनि जातिलाई सिध्याउनु छ भने त्यसको संस्कृति सिध्याउनु पर्दछ ।’’ भने झैँ दुरा जातिको संस्कृति पनि अहिले लोपोन्मुख अवस्थामै पुगेको छ । अन्तरजातीय विवाह, बसाईँ सराई, शहरीकरण, बैदेशिक रोजगार आदि कारणले दुरा जातिको अस्तित्व नै सङ्कटमा परिरहेको छ । केह िदुराहरूले अहिले आफूलाई गुरुङ भन्ने गरेको पनि पाइएको छ । यस जातिको भाषा, घट्दो जनसङ्ख्या, संस्कृति र जनजीवनका विविधतापूर्ण आयामलाई बचाउन समुदायस्तर र सरकारीस्तरबाट विशेष कार्यक्रमहरू ल्याउन आवश्यक छ । यस समुदायको संरक्षणका लागि सरकारीस्तरबाट केही प्रयास नभएका होइनन् । अहिेले गठन भएका स्थानीय तहबाट पनि यस जाति र उनीहरूको संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रमहरू ल्याउन आवश्यक देखिएको छ । यस दिशामा दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले पनि प्रयास गरिरहेको । जातीय उत्थानका लागि गरिएका यस्ता प्रयासहरू पर्याप्त भने छैनन् । यसका लागि अभियानकै रूपमा विशेष कार्यक्रम ल्याइनु आवश्यक छ, जसले दुरा जातिको मृतप्रायः भाषा, घट्दो जनसङ्ख्या, पतनोन्मुख संस्कृति र विचलनको दिशातिर उन्मुख मौलिक जीवनशैलीलाई बचाउन सकोस् । यसो भएन भने यो जाति इतिहासको कुनै पुरानो पानामा मात्र सीमित रहन सक्ने संकेत देखिएको छ ।