काठमाडौं १० भदौ। चालक अनुमती पत्रको लागि राजश्व तिरेर लामो समय सम्म कुर्नुपर्ने बाध्यता अब भने हट्ने भएको छ । नेपाल सरकार यातायात व्यवस्था विभागले लाइसेन्स छाप्ने मास प्रिन्टर भित्राए संगै यो समस्या हट्ने भएको हो
प्राविधिक तयारीपछि केही दिनमै नयाँ प्रिन्टरबाट काड छपाइ गरेपछि सेवाग्राहीले लाइसेन्सका लागि धेरै समय कुर्नु नपर्ने विभागको दाबी छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले केही महिनाभित्रै सहजै लाईसेन्स पाउने व्यवस्था मिलाउन लागिएको जानकारी दिए।
उनका अनुसार मास प्रिन्टर आईसकेकाले ढिलोमा तीन महिनाभित्रै यो सुरु हुनेछ। त्यसपछि ट्रायल पास गरेको एक सातामै लाइसेन्स हात पर्ने उनले बताए। ुएक सातामा लाईसेन्स नपाए मुद्दा हाल्नुस्ु उनले भने।
विभागमा गत मंगलबार नै मास प्रिन्टर आईपुगिसकेको छ। सफ्टवेयर इन्टलेशन गरेर सात जना कर्मचारीलाई तालिम दिएर मास प्रिन्टर मार्फत लाईसेन्स छाप्न रेडि पोजिसनमा राखेको छ। तर १० लाख कार्ड नआईपुगेकाले मास प्रिन्टर मार्फत छपाई भने सुरु भएको छैन।
आगामी साताभित्र कार्ड आईसक्ने हमालले दाबी गरेका छ। कार्ड आउनासाथ छपाई सुरु हुनेछ। मास प्रिन्टरले प्रतिघण्टा ५ सय कार्ड छाप्छ। विभिन्न सिफ्ट संचालन गरेर भएपनि तीन महिनाभित्रै लाईसेन्स सहज बनाउने विभागले जनाएको छ।
थप सहज बनाउन छोटो खरिद प्रक्रिया अपनाएर तत्कालै अर्को प्रिन्टर ल्याउन लागिएको हमालले बताए ।करिव ६ लाख सेवाग्राहीले ट्रायल पास गरेर चिटको भरमा छन् । विभागका रहेकामध्ये चारवटा प्रिन्टर संचालनमा रहेका छन् जसले करिव १५ सय हाराहारी छाप्छ। दैनिक माग करिव पाँच हजार छ।
सबै यातायात कार्यालयहरु प्रदेश मातहत गैसकेको भएपनि लाईसेन्स प्रिन्टिङ भने तत्कालै प्रदेशबाट सुरु नहुने भएको छ। विभागले स्मार्ट लाईसेन्स कार्यान्वयन ल्याउनुअघि पर्याप्त तयारी नगरेका कारण समस्या भोग्नु परेको भन्दै प्रदेशमा यस्तो समस्या दोहोरिन नदिने महानिर्देशक हमालले बताए।