नगर प्रमुख शिवकुमार गिरीले उक्त विवादमा संलग्न सुमन विकसंग छलफल गरी विवाद समाधान गरेको चापाकोट नगरपालिकाका प्रेस संयोजक विश्वप्रकाश भट्टराईले जानकारी दिएका छन् ।
चापाकोटको ६ नम्वर वडामा खाद्यान्न लगायतका राहत सामाग्री बितरणका क्रममा आईतवार समस्या उत्पन्न भएको थियो ।
सो क्रममा राहतकै विषयलाई लिएर सामान्य बिवाद हुँदा स्थानीय सुमन विक घाईते भएको भनी समाचार बाहिरिएको थियो । छलफल पश्चात एक अपसमा मिलेर जाने सहमती भएको सुमन विकले बताएका छन् ।
“सामान्य विवाद हो, आज मेयरसावको उपस्थितीमा हामीले मिलेर जाने सहमति गरेकाछौं,” उनले भने, “कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले चलाएको अभियानलाई साथ दिएर जानेछौं ।” विकका अनुसार दुबै तर्फको वुझाईको कमी भएका कारण सामान्य समस्या उत्पन्न हुन पुगेको थियो ।
उता चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले सामान्य विवादलाई बिभिन्न संचारमाध्यममा अतिरन्जित हुने गरी आफ्नो नाम जोडिएर आएको समाचारवाट दुख लागेको वताएका छन् । मुलुक संकटमा रहेको अवस्थामा नागरिकहरुको दुख र पीडामा राहत वितरण गर्नका लागि आफै खटिइ रहेको बेला आएका यस्ता खालका समाचारवाट दुख लागेको वताउदै चापाकोट नगरपालिका क्षेत्र भित्र रोगको संक्रमण हुन नदिन र नागरिकहरुलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आफू निरन्तर कार्यक्षेत्रमा खटिइरहेको वताएका छन् ।
मूलुकले लकडाउन गरी दुईहप्ता सम्म संक्रमण नियन्त्रण र विदेशवाट आएकाहरुको निगरानी गरिरहेको अवस्थामा आफू नागरिकको घरदैलोमा पुगेर नागरिकको पिर र मर्का बुझ्दै समस्यामा परेका परिवारहरुलाई राहत सामाग्रि वितरण गरिरहेको वताएका छन् ।