वालिङ, २४ चैत ।
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा वालिङ उद्योग वाणिज्य संघले दुई लाख बढी आर्थिक सहयोग गरेको छ । वालिङ नगरपालिकाले राहत वितरणलाई कडाई गर्दै आफूखुसि वितरण गर्न रोक लगाई कोष मार्फत एकद्वार प्रणालीबाट वितरण गर्ने कार्यलाई कार्यान्वयन गरेसँगै विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले नगरपालिकाको राहत कोषमा रकम जम्मा गरेका छन् ।
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा आईतबार वालिङ उद्योग वाणिज्य संघले रु. २ लाख २२ हजार २ सय २२ को चेक नगर प्रमुख दिलिप प्रताप खाँणलाई हस्तान्तरण गरेका छन् । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको हो ।
अहिलेको विषम परिस्थतिमा आउन सक्ने परिस्थितिसँग जुध्नका लागि संस्थामार्फत नगद सहयोग गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । “संस्थामार्फत नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेका छौं” संस्थाका अध्यक्ष पौडेलले भने, “आगामी दिनमा पनि नगरपालिकासँगै सहकार्य गर्दै अगाडि बढ्ने र आवश्यक परेको खण्डमा क्वारेन्टाईन तथा आईसोलेशन सेन्टर बनाउनका लागि सिटीहल उपलब्ध गराउने निर्णय गरिएको छ ।”
संकलन भएको र प्रदेशबाट आएको रकममा नगरपालिकाबाट पनि थप गरी राहत वितरण गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले जानकारी दिए । नगरपालिकामार्फत राहत वितरण गर्नका लागि गण्डकी प्रदेश सरकारबाट दश लाख प्राप्त भएको पनि जानकारी दिइएको छ । राहत संकलन कार्यलाई अझै केही दिन जारी राख्ने नगरपालिकाले जनाएको छ ।
संघ संस्था तथा ब्यक्तिले आँफूखुशी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने कसैले पाउँदै नपाउने संभावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने ईच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने ब्यवस्था मिलाएको नगर प्रमुख खाँणले जानकारी दिए ।