स्याङ्जा, ११ फागुन ।
नेपाल सरकारले सन २०२० लाई पर्यटन वर्षको रुपमा मनाईरहेका बेला नेपाल मगर संघले समेत राष्ट्रिय मगर एकता दिवस फागुन १५ लाई पनि भ्रमण वर्ष संग लक्षित कार्यक्रम गरी मनाउने भएको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाले आईतबार वालिङमा आयोजित पत्रकार सम्मेलन मार्फत फाल्गुन १५ गते मगर एकता दिवसलाई पर्यटन वर्ष संगै जोड्दै विविध कार्यक्रम गर्ने जनाएको छ ।
फाल्गुन १५ गते वालिङको खेलमैदानमा मगर दिवस र मगर भवन (मगर गुमष्ठा इम) को उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गर्ने पत्रकार सम्मेलनमा समन्वयका अध्यक्ष लोकेन्द्र तरामु मगरले जानकारी दिए । खेलमैदान छेउमा रहेको दुईतले भवनको समेत उपराष्ट्रपति पुनले उद्दघाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
मगर समुदायको भेषभुषा र संस्कृतिलाई संरक्षण गर्दै प्रत्येक वर्ष फाल्गनु १५ लाई एकता दिवसका रुपमा मनाईदै आइरहेको उनले जानकारी दिए । स्याङ्जाको केन्द्र वालिङमा जिल्लाभरीका समुदायको सहजताका लागी वालिङमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तरामुको भनाई छ ।
“मगर इतिहास, भाषा, संस्कृति संर्वद्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वायक्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजित मगर एकता दिवसका अवसरमा आयोजित कार्यक्रमको नेपाल मगर संघ वालिङ नगर समितिले व्यवस्थापन गरेको मगर संघ वालिङ नगर समिति अध्यक्ष डिलबहादुर थापाले बताए ।
कार्यक्रममा सल्लाहकार पुर्णबहादुर थापाले दिवसले मगरसमुदायबीच एकता र सदभाव कायम गर्ने बताउँदै दिवसमा सहभागि हुन सबैलाई अनुरोध गरे । दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका ११ स्थानीय तहबाट मगर समुदायको सहभागिता रहनेछ । मगर भेषभुषासहितको ¥याली तथा सांस्कृतिक झाँकी फेँदिखोला र गल्याङबाट शुरु भई वालिङमा कार्यक्रम हुनेछ ।
विश्वभरी छरिएर रहेका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै मगर एकताका लागी दिवस मनाउँदै आएका छन् । नेपाल मगर संघ विश्वभरी बसोबास गर्ने नेपाली मगरहरुको साझा संगठन हो । संघले आफ्नो स्थापनाकालदेखि नै मगर भाषा, संस्कार, संस्कृति, भेषभुषको संरक्षण, संर्वद्धन र विकासका लागी क्रियाशिल हुँदै आएको छ ।
समाजिक सद्भाव, सहिष्णुता, सांस्कृतिक सह–अस्तीत्वमा ऐक्यवद्ध रही सभ्य र सुसंस्कृत जातीय विभेद रहित समाजको निर्माण गर्ने हेतूले नेपाल मगर संघ, संघसंस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको संस्था हो । मगर संघ नगर जिल्ला अध्यक्ष लोकेन्द्रबहादुर तरामुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सागर थापाचर्तीले गरेका थिए ।