फेदीखोला, २७ मंसिर ।
प्रविधिको विकाससंगै फेदीखोला गाँउपालिकाले गर्भवती महिलालाई लक्षित गरेर मेडिक मोवाइल प्रविधि सुरु गरेको छ । गर्भवती जाँच, शिशुको स्वास्थ्य, खतराजन्य अवस्था जस्ता महत्वपूर्ण सूचना मोबाइलबाटै स्वयमसेविकामाझ आउने र दोहोरो सूचना आदान प्रदान गर्ने उद्देश्यका साथ गाँउपालिकाले यो सेवा सुरु गरेको हो ।
फेदीखोला गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको मोवाइलमा प्रत्येक गर्भवतीको अवस्थाकाबारे ४, ६, ८ र ९ महिनामा म्यासेज आउनेछ । म्यासेजमा गर्भवती महिलाको प्रसुती हुने अनुमानित मिति आयो’, नमस्ते, पहिलो गर्भ जाँचको लागि स्वास्थ्यसँस्था जान सम्झाउनु होला ।, हामीलाई भेटेकोमा धन्यवाद, जस्ता म्यासेजको आधारमा महिलाको महिनावरी रोकिएदेखि सुत्केरी हुने बेलासम्म निगरानी रहने गाँउपालिकाले जनाएको छ ।
स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय र प्रविधिमैत्री सेवा मार्फत नागरीकको सेवा प्रवाहमा जोड दिने उद्देश्यका साथ अगाडी वढेको फेदीखोला गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले वताए । गाँउपालिका भित्र रहेका स्वयंसेविका मार्फत गर्भबती महिलाको नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
नियमित रुपमा स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको प्रविधिमा एक पटक गर्भवतीको नाम दर्ता भइसकेपछि स्वास्थ्य संस्था नगए तुरुन्त म्यासेज आउँछ । दुई पटक म्यासेज पठाउँदा पनि महिला स्वास्थ्य संस्थामा जाँच गर्न नआए तेस्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई पठाउने व्यवस्था छ जसले गर्भवती भएर पनि स्वास्थ्य संस्थामा नजाने महिलाहरुलाई फलोअप गर्न स्वयंसेविकालाइ पनि सहज हुन्छ ।
प्रविधि मार्फत महिलाहरु नियमित रुपमा स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेक जाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार ल्याउने स्वास्थ्य शाखाको लक्ष्य रहेको छ ।
प्रविधिको प्रशिक्षण दिन आयोजित कार्यक्रममा स्वास्थ्य शाखाले ३६ जना स्वयमसेविकालाई सिम सहित फिचर फोन र ४ वटा स्वास्थ्य चौकीलाई ४ वटा एन्ड्रोइड फोन प्रदान गरेको छ । कुल १० लाख बजेटको यस कार्यक्रमले महिलाहरु नियमित रुपमा स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेक जाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार ल्याउने फेदीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खिलप्रसाद पौडेल बताउँछन् । मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाईल स्वास्थ्य कार्यक्रम अन्तर्गत मेडिक मोवाइलले ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना समेत गरेको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गुणस्तरीय स्वास्थ्य र सर्वसुलभ सेवा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए । प्रविधिको भरपुर उपयोग गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप मेडिक मोवाइल प्रविधिको सुरुवात गरिएको अध्यक्ष सुवेदीको तर्क रहेको थियो । यस प्रविधिको माध्यमबाट मातृ तथा शिशु मृत्यु दर शुन्य तहमा पुरयाउन सकिने र सुरक्षित मातृत्वको लागि तथ्यांकको व्यवस्थापन र अभिलेखन पनि तथ्यपरक बन्ने उनले बताए । गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्म महिला र नवजात शिशुको स्याहारसुसार र स्वास्थ्य जाँचलाई मोवाईलको सहायताबाट प्रभावकारी हुने मेडिक स्वास्थ्य कार्यक्रमका परियोजना अधिकृत नारायण रिजालले जानकारी दिए ।
गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचना पालिकाको स्वास्थ्य संस्थाको प्रमुखकोमा समेत पुग्ने भएकोले सोको आधारमा आवस्यक सल्लाह दिन सकिने उनले जानकारी दिए । तत्काल गर्नुपर्ने उपचार तथा स्वास्थ्य जाँचबारे मोबाइलबाटै सन्देश पठाउन मिल्ने र त्यो सन्देश सर्भर मार्फत् जनस्वास्थ्य कार्यालय र मेडिक मोवाइलमा पुग्ने छ । सामाजिक विकास समिति संयोजक ज्ञानुमाया पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रशिक्षकहरुले प्रशिक्षण दिएकाछन् ।