पाल्पा, मंसिर १९ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार पाल्पाको तानसेनस्थित भगवती मन्दिरमा पूजा–अर्चना गरेका छन् । त्यसक्रममा पूर्वराजा शाहलाई पाल्पावासीले भव्य स्वागत गरेका थिए । मखनटोलको हुलाकचोकदेखि शीतलपाटी हुँदै भगवतीटोलसम्म सयौं शुभेच्छुक, समर्थक तथा सर्वसाधारण लामबद्ध भइ पूर्वराजाको स्वागत गरेका थिए ।
पूर्वराजा केहीदिन पहिलेदेखि तानसेनमा पूर्वराजा शाह आउने हल्ला चलेपछि यहाँका मानिस हेर्न इच्छुक देखिएका थिए। उनी आउने दिन बिहीबार बिहानदेखि सर्वसाधारण तानसेनमा जम्मा भएका थिए।
यद्यपि राजाको पूजाआरधना गर्ने कार्यक्रमको चाँजोपाँजो भने मन्दिर व्यवस्थापन समितिले मिलाएको थियो। बाहिर सडकमा भने शिवसेना नेपालले व्यावस्थापन गरिरहेको थियो। पूर्वराजा शाहलाई स्वागत गर्न पाल्पा निवासी राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय सदस्य डुलबहादुर कुवँरको नेतृत्वमा जिल्ला स्तरका नेता तथा कार्यकर्ता हातमा फूलमाला लिएर बसेका थिए, भने केही सर्वसाधारण भने स्वतःस्फूर्त रूपमा स्वागतको लागि हातमा फूलमाला तथा पुष्पगुच्छा बोकेर बसेको दृष्य देखिन्थ्यो।
उता मन्दिर परिसरमा भने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनको नेतृत्वमा स्वागत गर्ने लाइनको व्यवस्थापन मिलाएको पाइन्थ्यो। जब पूर्वराजा शाह आइपुगे हेर्ने दर्शक, फूलमाला लगाउने र पुष्पगच्छा हातमै पुगेर दिन चाहनेहरूको निकै भीड थियो।
सोही अवसरमा केहिले राजा आउ देश बचाउ जस्ता नारा पनि लगाएका थिए। पत्रकारुलाई समेत भीडमा फोटो खिच्न र भिडियो लिन हम्मेहम्मे परेको थियो। सुरक्षा व्यवस्था उनकै सुरक्षामा खटिएका सुरक्षाकर्मी र शिवसेना नेपालका कार्यकर्ताले गरका थिए।
पूर्वराजा शाहलाई कसैले हातमा ढोग गरेको थिए भने धेरैले सेल्फीसमेत खिचेको दृष्य थियो। सानो बालक उनको अगाडि पुगेर सेल्फी खिच्ने प्रयास गरे पनि पूर्वराजा शाहले भीडकै बीचमा उभिएर ती बालकसँग फोटोसमेत खिचाएका थिए।
बिहीबार बिहान साढे ११ बजे भैरहवाबाट तानसेन आइपुगेका उनी साढे चार बजे फर्किएका छन्। यसअघि भैरहवाका विभिन्न मन्दिरमा दर्शन गरिसकेका उनी शुक्रबार कपिलवस्तु जाने कार्यक्रम रहेको शिवसेना नेपालका प्रवक्ता विक्रम पाण्डेले बताए।