सुशील रेग्मी, १ कार्तिक ।
पाल्पा रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ । फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भएपनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ ।
विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ । बुटवलबाट गल्याङसम्मको यात्रामा निस्किएका सुदीप भण्डारीलाई पनि एकपटक तालपोखरा नघुमिकन आफ्नो गन्तव्यमा फर्कन मन भएन । तालपोखरामा डुङ्गामा सयर गर्दा फेवातालको अनुभूति भएको उनले बताए ।
“तालपोखराका बारेमा चर्चा हुन थालेपछि एकपटक नआइकन मनले मानेन, तालपोखरा क्षेत्र घुम्दा अति सुन्दर लाग्यो, रामपुर क्षेत्रको पर्यटन विकासको दरिलो खम्बा बन्नेछ”, उनले भने ।
आन्तरिक पर्यटकको अलावा बाह्य पर्यटकलाई पनि भित्र्याउने व्यवस्था गर्नसके आर्थिक समृद्धिमा पनि टेवा पुग्ने उनको भनाइ छ । दशैँपर्व शुरु भएदेखि तालपोखरा घुम्नेको चहलपहल बढ्दो छ । चाडपर्वको समय भएकाले अहिले दैनिक ४ सयको हाराहारीमा डुङ्गा चढ्ने गरेको डुङ्गा चालक भगवान् देवकोटाले बताए ।
“दशैँतिहार पर्वको समय भएकाले अन्य समयभन्दा तेब्बर बढी पर्यटक भित्रिएका छन्, हामीलाई पनि काम पुगेकै छ”, उनले भने । तीन महीनासम्म तालको पानी सुकाएर मर्मत तथा सम्भार गरेपछि तालपोखराको सौन्दर्य नै फरक देखिएको छ ।