स्याङ्जा, २८ भदौ
प्रसिद्ध धार्मिक स्थल छाँयाक्षेत्र मन्दिरमा गत श्रावण महिनामा सञ्चालित शिवमहाआरतीमा ६७ लाख ५५ हजार ६ सय २२ रुपैँया बचत भएको छ ।
छायाँक्षेत्र सेवा समिति भीरकोट नगरपालिका ४ स्याङ्जाले आयोजना गरेको शिव–महाआरतीको शनिबार मन्दिर प्राङगणमा पत्रकार सम्मेलन गरी आयव्याय सार्वजानिक गरिएको हो ।
श्रावण महिनाको १ देखि ३२ गतेसम्म सञ्चालित शिव पुजन, सत्संग तथा शिव–महाआरतीमा ९१ लाख ९ सय ३६ आम्दानी गर्दै २३ लाख ४५ हजार ३ सय १४ रुपैँया खर्च गरी ६७ लाख ५५ हजार बचत गर्न सफल भएको छायाँक्षेत्रि सेवा समितिका सह–सचिव गोकुल अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आम्दानीतर्फ भजन कृतनबाट २ लाख ३ सय ९५, दानपेटिका बाट १ लाख ६ हजार ३० रुपैँया, पार्किङ व्यवस्थापनमा ६ हजार ६ सय, स्टल विक्रिबाट ६७ हजार ५ सय ५०, चामल विक्रिबाट १८ हजार ५ सय ६०, आजिवन सदस्यबाट ५८ लाख २६ हजार २ सय ५३, कलश सहयोग ४ लाख १६ हजार ९ सय ८८, आरती तथा सहयोग रसिदबाट २३ लाख ७८ हजार ५ सय ६० गरी ९१ लाख ९ सय ३६ रुपैँया संकलन भएको सहसचिव अधिकारीले जानकारी दिए ।
त्यस्तै खर्चतर्फ यातायात तथा ढुवानी खर्चमा ७८ हजार ८ सय ३५, इन्धन खर्चमा ४१ हजार ४ सय ७५, टेन्ट रंगरोगन तथा सजावटमा २ लाख ७६ हजार ९ सय ६५, प्रसारप्रसार ब्रुसर, पम्ल्पेटतर्फ २ लाख २५ हजार ६३, संयमसेवक परिचालनमा ९९ हजार ९ सय, किराना समानतर्फ ३ लाख ३३ हजार ९ सय २९, खाजा तथा खाना खर्च २५ हजार ४ सय ४०, मर्मतसंभार ४४ हजार ४ सय ४०, विज्ञापन प्रचारप्रसार तथा बाजामा ७४ हजार ५ सय, कलश खरिदमा १ लाख ५८ हजार २ सय ७२, प्रमाणपत्र कदरपत्र र सम्मानतर्फ २ लाख, पण्डित खर्च ७ लाख ७४ हजार ६ सय १५ र विविध खर्चमा ११ हजार ७ सय ८० गरी २३ लाख ४५ हजार ३ सय १४ रुपैँया रहेको छ ।
कार्यक्रममा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बचत रकमले मन्दिरमा १०८ धारा निर्माण, पार्क निर्माण, अन्य भौतिक संरचनाको निर्माण, नवग्रहको मुर्ति स्थापना, सिटि हल, प्रवेशद्धारदेखि भित्रको सडक फराकिलो पार्ने योजना रहेको बताए ।
?
नेपाल सरकार अन्र्तगत गण्डकी प्रदेशले समेत ४० लाख सहयोग गर्ने र भीरकोट नगरपालिकाले समेत २० लाख दिने भएकाले बचत रकम र सहयोग रकमले ती सबै योजना पुरा गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । मन्दिरको मुख्य स्रोत भनेको मन्दिर गरिने दानरकम नै रहेको भन्दै मन्दिरलाई प्रदेशकै प्रमुख धार्मिक स्थलको रुपमा विकास गर्नका लागी लागिपरेको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने, “पछिल्लो समय प्रचारप्रसारका कारण मन्दिरको धार्मिक महिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुगेको छ । लुम्बिनी र पोखराको केन्द्रमा रहेको शिव मन्दिरलाई आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने प्रयास गरेका छौँ ।”
मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ ।
यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
मन्दिर सेवा समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ सल्लाहकार गोविन्दकुमार कर्माचार्य र सञ्चालन सचिव कृष्णप्रसाद श्रेष्ठले गरेका थिए।