नारायण शर्मा
ओखरकोट पर्यटन एवं ग्रामिण विकास सेवा समिति, प्यूठानले ‘होमस्टे, अध्ययन अवलोकन भ्रमण’ टोलीमा सहभागी हुने अवसर जुटाइदिएको थियो, २०७० फागुन २२ गतेदेखि २६ सम्म । भ्रमणको क्रममा स्याङजाको सिरुवारी, कास्कीको घान्दु्रक र तनहुँको बन्दीपुर पुगेर ‘होमस्टे’ लाई नजिकबाट नियाल्ने मौका मिल्यो । एक पत्रकारको हैसियतमा उक्त भ्रमण टोलीमा सहभागी रहेर ती स्थानहरूमा पुग्दा जे देखियो र भोगियो, तिनै अनुभवहरूलाई यहाँ उतार्ने जमर्को गरिएको छ ।
‘होमस्टे’ को सबैभन्दा राम्रो व्यवस्था हामीले स्याङजाको सिरुवारीमा पायौँ । त्यहाँ होमस्टे विधिसम्मत तरिकाबाट सञ्चालन गरिएको रहेछ । ‘गाउँ पर्यटन विकास समिति, सिरुवारी’ ले त्यहाँ होमेस्टे सञ्चालन गरेको छ । स्थानीय घरहरू, आमा समूह र युवा क्लबले सहयोगीको भूमिका निभाएका छन् । पाहुनाहरूको स्वागत सम्मान, गास, बास र मनोरञ्जनका लागि तिनै समूहहरूका बीचमा कार्यविभाजन गरिएको छ । पाहुनाहरू आउने खबर पाउनासाथ सबै मिलेर गाउँमा सरसफाइ अभियान चलाइन्छ । स्वागत, सम्मानको जिम्मा आमा समूहले लिएको छ भने साँझ सांस्कृतिक प्रस्तुतिहरूको जिम्मा युवा क्लबलाई दिइएको छ । खाना, बस्नका लागि पाहुनाहरूलाई पर्यटन विकास समितिले निर्धारित गरिदिएको ‘होमस्टे’ को मापदण्ड पूरा गरेका घरहरूमा व्यवस्था मिलाइएको हुन्छ । कुन पाहुनालाई कसले राख्ने भन्ने निर्धारण समितिले गर्दछ । ‘यो पाहुनालाई मैले लैजान्छु’ वा ‘म फलानोकोमा जान्छु’ भनेर पाइँदैन । त्यो रोलक्रम समितिले नै निर्धारण गर्दछ । सुरुमा पर्यटन समितिका पदाधिकारीका साथमा आमा समूहले फूलमाला सहित पाहुनाहरूलाई स्वागत गरिन्छ । त्यसपछि उनीहरूलाई साझा पाहुना घरमा लगिन्छ, जहाँ पर्यटन समितिको अफिस र बुद्धको मूर्ति पनि रहेको छ । त्यही सामान्य चियानास्ता गराइन्छ । चियानास्ता गराएपछि पाहुनाहरूको सङ्ख्या अनुसार कम्तीमा २ देखि बढीमा ६ जनासम्मको एक समूह बनाई विभिन्न घरहरूमा विभाजन गरिन्छ । विभिन्न घरहरूमा रहे पनि पाहुनाहरूलाई खाना, नास्ता र बसाइँको प्रबन्ध प्रायः एकै किसिमको मिलाइएको हुन्छ । पाहुनाहरू दिनभरि आ–आफ्नै तरिकाले घुम्न सक्छन् । साँझ सांस्कृतिक सभाहलमा स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तृतिद्वारा पाहुनाहरूलाई मनोरञ्जन दिइन्छ ।
स्याङजाको सिरुवारीमा आज होमस्टेको जुन आकर्षक रूप देख्न पाइन्छ, त्यो एकाएक सिर्जना हुन सकेको होइन रहेछ भने त्यसका पछाडि निश्चित मानिसहरूले अनवरत रूपमा काम गरेका रहेछन् । सिरुवारी गाउँ स्याङ्जाको पञ्चमूल गाविसको वडा नं. ४ मा पर्दछ । यो विकट र अनकण्टार ठाउँमा छ । विकट क्षेत्रमा रहे पनि यहाँ अवस्थित प्राकृतिक सुन्दरताका आधारमा स्वदेशी तथा विदेशी पर्यटकहरूका निम्ति यसलाई एक आकर्षक स्थल बनाउन सकिन्छ भन्ने दृढ अठोटका साथ केही व्यक्ति लागि परे । आज, त्यहाँ उनीहरूको सपना साकार भएको छ । आज सिरुवारी गाउँ विकट पहाडी क्षेत्रमा रहे पनि सफा, सुग्दर र मनमोहक देखिन्छ । गाउँ पर्यटन विकास समिति, सिरुवारीका सचिव गणेशबहादुर गुरुङका अनुसार सिरुवारीलाई पर्यटकीय स्थल बनाउन र होमस्टेको व्यवस्था मिलाउने मुख्य श्रेय क्याप्टेन रुद्रमान गुरुङलाई जान्छ । क्याप्टेन रुद्रमानले सिरुवारीमा होमस्टे सञ्चालनका लागि २०३२÷३३ सालदेखि प्रयत्न अघि बढाउनु भएको थियो । त्यहाँ होमस्टे सञ्चालनका लागि काठमाडौँदेखि कुकहरू ल्याएर खाना बनाउन सिकाइएको छ, स्वदेश तथा विदेशी पाहुनाहरूका लागि गरिने सम्मान सत्कार, सुरक्षा व्यवस्था, सरसफाइ, अनुशासन लगायतका विषयमा बारम्बार प्रशिक्षणहरू चलाइएको छ । २०३२ सालदेखि सुरु गरिएको प्रयत्नले २०५४ सालमा गएर मात्र मूर्त रूप लिएको थियो । २०५४ सालमा पर्यटन बोर्डले नै सिरुवारीलाई ‘नेपालको पहिलो पर्यटकीय गाउँ’ घोषणा गरेको थियो । यद्यपि पर्यटन बोर्डमा औपचारिक रूपमा दर्ता भने २०५६ सालमा गएर भएको थियो । सुरुमा सिरुवारी गाउँका ३७ घरहरूमा होमस्टे सञ्चालन गरिएको थियो । अहिले त्यो सङ्ख्या घटेर ३२ मा झरेको छ । सिरुवारी गाउँमा गुरुङ जातिका मानिसहरूको बसोबास छ । ब्रिटिस सेनामा भर्ति नभएका प्रायः कुनै घरका मान्छे छैनन् । पछिल्लो समयमा ब्रिटिस सरकारले आफ्नो सेनामा कार्यरत रहेका नेपालीहरूलाई उतै बसोबासको व्यवस्था मिलाएपछि धेरै भू.पू. ब्रिटिस ‘लाहुरे’ हरू उतै गए, जसका कारण होमस्टे घरको सङ्ख्या कमी भएको हो । त्यसो त मापदण्ड पूरा गर्न नसकेकाको घरहरूमा होमस्टे सञ्चालनको अनुमति पर्यटन समितिले नै दिँदैन पनि । युवा पुस्ता प्रायः विदेशतिरै रहेका कारण पनि अहिले त्यहाँ होमस्टे सञ्चालन सङ्कटमा पर्दै गएको देखिन्छ । तर सचिव गुरुङ भन्नु हुन्छ ः “धेरै युवाहरू ब्रिटिस आर्मीमा भर्ती भएका छन् । भू.पू. ब्रिटिस आर्मीहरू कोही उतै बस्ने गरी गएका छन् । तर विदेशमा रहे पनि उनीहरूले पछि आफूहरू आएर सिरुवारीको यो पर्यटन व्यवसाय धान्ने वचन दिएका छन् । अहिले पनि छुट्टीमा आएका बेला उनीहरूले राम्रै सहयोग गरिरहेका छन् । हाम्रो शेषपछि ती युवाहरूले यो पर्यटन व्यवसाय अघि बढाउनेमा हामी विश्वस्त छौँ ।” होमस्टे सञ्चालन सोचे जस्तो सजिलो नभएको गुरुङ बताउनु हुन्छ । “होमस्टे सञ्चालन सोचे जस्तो सजिलो छैन । त्यसका लागि सामूहिक भावनाको सोच अति आवश्यक पर्छ ।” उहाँ भन्नु हुन्छ ः “तँ काङ्ग्रेस, म कम्युनिस्ट भन्ने भावनाले यो चल्दैन । तँ यो जात म ऊ जात भनेर पनि यो चलाउन सकिँदैन । सबै मिलेर सामूहिक रूपमा काम गर्न सकियो भने मात्र यो चल्न सक्छ । पार्टी आ–आफ्नो ठाउँमा छ तर होमस्टेभित्रै राजनीति र छोइछिटो गर्न थालियो भने यो तहसनहस हुनेछ ।”
नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुवारीमा हामी २०७० फागुन २३ गते बिहान पुगेका थियौँ । भ्रमण तालिका अनुसार हामी २२ गते साँझ नै पुग्नु पर्ने थियो । तर प्यूठानबाट टोली स्याङ्जा बजार आइपुग्दा नै साँझ ७.३० बजिसकेको थियो । त्यसैले हामी सो दिन पुग्न सकेनौँ । २२ गते स्याङ्जा बजारमा नै बास बसी २३ गते बिहानै हामी नाउडाँडा, कार्कीनेटा हुँदै सिरुवारीतर्फ लागेका थियौँ । टोलीमा ओखरकोट पर्यटन एवं ग्रामिण विकास सेवा समिति, प्यूठानका महासचिव लीलाबहादुर जी.सी. र सदस्यहरू राजेन्द्रविक्रम सिंह, शङ्कर जी.सी. र सकुन्तला जी.सी. लगायत ३४ जना र रेडियो प्यूठानका प्रज्वल पहाडी, प्यूठान समाचार पत्र दैनिकका हेमराज खनाल र हाँक साप्ताहिकबाट म स्वयङ्गरी ३ जना पत्रकारहरू गरी कुल ३७ जना रहेका थियौैँ । हाँक साप्ताहिकका अध्यक्ष गङ्गा पौडेल पनि हाम्रो साथमा हुनु हुन्थ्यो । कार्कीनेटाबाट केही पर गएर अलिकति तल झरेपछि बाटो केही अप्ठ्यारो रहेछ । तर पनि चालकले बस कुशलतापूर्वक चलाएर हामीलाई सःकुशल सिरुवारी पुर्याए । हामी पुग्दा दिनको १२ बजेको थियो । सिरुवारीका आमाहरू हाम्रो स्वागतमा माला लिएर लामबद्ध हुनु हुन्थ्यो । न्यानो स्वागतपश्चात् हामीलाई पाहुना घरमा लगेर चियानास्ता गराइयो । त्यसपछि हामी विभिन्न घरहरूमा बाँडिएर खाना खाई केही बेर आराम गर्यौँ । आरामपछि हामीले गाउँको अवलोकन गर्यौँ । बुद्धपार्क र वनभोज स्थल घुम्यौँ । साँझ हामी सांस्कृतिक कार्यक्रमको सट्टा अन्तक्र्रियात्मक कार्यक्रममा सहभागी भयौँ । किनकि, हाम्रो भ्रमणको उद्देश्य नै होमस्टेको अध्ययन र अवलोकन गर्नु थियो । अन्तक्र्रियामा गाउँ पर्यटन विकास समिति सिरुवारीका सचिव गणेश गुरुङले हामीलाई होमस्टेमा त्यहाँको अनुभवबारे प्रशस्त जानकारी दिनु भयो ।
यसै पनि समय घर्किसकेको थियो, हामी एक दिन पछाडि भैसकेका थियौँ । २४ गते बिहानै हामी स्याङजाको सिरुवारीबाट कास्कीको घान्द्रुक जानका लागि बिदा भयौँ । हामीले २४ गते बिहानै ६ बजे जाने जानकारी अघिल्लो दिन नै गराएका थियौँ । बिहान उठ्दा चियानास्ता तयार थियो । बास बसेकै घरमा चियानास्ता खुवाएर पुनः पूmलमाला लगाइ दिँदै हामीलाई विदा गरियो । सिरुवारीबाट बिदा भएर हाम्रो बस अघि बढ्दै थियो, तर हाम्रो मनभरि भने निकै बेरसम्म पनि त्यो सम्मान त्यो सत्कार, त्यो सफा गाउँ सिरुवारी नै सल्बलाइरहेको थियो ।
होमस्टेको अध्ययन अवलोकन गर्ने क्रममा २४ गते, (जुन दिन ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस परेको थियो), साँझ हामी कास्कीको घान्द्रुक पुग्यौँ । पोखराबाट बाग्लुङ जाने बाटो हुँदै बीचबाट मोडिएर उकालो पहाडको बाटो हामी घान्दु्रकतर्फ लागेका थियौँ । घान्द्रुक गाउँमा पुग्नका लागि हामीले बस छाडेर डेढ घण्टाको पैदल यात्रा पनि गर्यौँ । बाटो उकालो र अप्ठ्यारो थियो तर घान्द्रुक गाउँ पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरताले हाम्रो थकाइ बिर्साइदियो । हामी घान्द्रुक पुग्दा साँझको ६ बजिसकेको थियो ।
घान्दु्रक गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत नै पर्दो रहेछ । त्यहाँबाट अन्नपूर्ण र माछापुच्छ«े हिमाल निकै समिपमा देखिने रहेछ । त्यो सुन्दर दृश्यको अवलोकन गर्न भने हामीले झण्डै १३ घण्टा पर्खिनु पर्यो । २५ गते सूर्योदय भएपश्चात् मात्र हामीले त्यो सुन्दर प्राकृतिक दृश्यलाई अवलोकन गर्न पायौँ । हिमालहरूको सुन्दर दृश्य मात्र होइन, गाउँ नजिकै रहेको चिया बगानको समेत हामीले अवलोकन गर्यौँ । त्यति विकट क्षेत्रमा रहेता पनि त्यहाँको ग्रामिण विकासको स्तर निकै माथि थियो । घान्द्रुक गाविसभरिमा गरी कुल ३०० वटा त साना–ठूला होटलहरू नै रहेछन् । हाम्रो अध्ययन र अवलोकनको मुख्य विषय होमस्टे रहेकाले हामीले अन्यभन्दा पनि होमस्टेकै बारेमा बुझ्न चाहयौँ । तर त्यहाँ होमस्टेको स्थिति त्यति सुखद रहेनछ । त्यहाँ होमस्टेलाई व्यक्तिगत होटलहरूले विस्थापित गर्दै लगेका रहेछन् । व्यक्तिगत मुनाफालाई केन्द्रमा राखेर खोलिएका होटलहरूको नै त्यहाँ बोलावाला रहेछ । त्यहाँ एउटा होटल व्यवस्थापन समिति रहेछ, जसको अध्यक्ष किसन गुरुङ हुनु हुन्छ । (हामी उहाँकै सम्पर्कमा गएका थियौँ तर कामवश त्यसदिन उहाँ पोखरातर्फ झर्नु भएको थियो र हाम्रो भेट हुन सकेन) । होमस्टे पनि सोही समितिले नै हेर्ने रहेछ । सोही समितिकी सदस्य हरिमाया गुरुङ (जसको घरमा नै हामी बसेका थियौँ ) ले हामीलाई त्यहाँको होमस्टेका बारेमा जानकारी गराउनु भयो । उहाँका अनुसार त्यहाँको प्राकृतिक सुन्दरता अवलोकन गर्न आउने विदेशी पर्यटकहरूको सल्लाह र सुझावमा २०५१÷५२ सालदेखि नै त्यहाँ होमस्टेको अभ्यास गरिएको थियो । सुरुमा ८ वटा जति घरहरूमा होमस्टे सञ्चालन गरिएको थियो । तर पछि त्यो सङ्ख्या घट्यो । अहिले मात्र २÷३ घरमा त्यो पनि नाम मात्रका होमस्टे छन् त्यहाँ । हामी २ वटा घरमा बाँडिएर बसेका थियौँ । ती हामी बसेको घर होमस्टेभन्दा पनि होटल प्रकृतिको थियो । सुरुमा सिरुवारीका आमाहरूले पनि त्यहाँ आएर होमस्टेका बारेमा सिकेका रहेछन् । त्यहाँ पनि आमा समूह र युवा क्लब त सक्रिय रहेछन् तर सिरुवारीको जस्तो विधिसम्मत तरिकाबाट तिनीहरू सञ्चालित भएका रहेनछन् । विकट ठाउँ भए पनि त्यहाँ ठूला ठूला होटल समेत रहेछन्, जसमा स्वदेशीभन्दा पनि विदेशी पाहुनाहरूको बाहुल्यता देखिन्थ्यो । युवा क्लबले जुन होटलमा सांस्कृतिक कार्यक्रमको माग हुन्छ, त्यही गएर कार्यक्रम गर्ने प्रचलन रहेछ । घान्दु्रक गाविसका ३,४,५,६,७ र ८ नम्बर वडाहरूमा होटलको सङ्ख्या बढी रहेछ । सामूहिक भावनालाई न्यूनीकरण गर्दै व्यक्तिगत मुनाफालाई प्राथमिकतामा राख्दा नै त्यहाँ होमस्टे विस्थापित हुने अवस्थामा पुगेको निष्कर्ष हामीले निकाल्यौँ । त्यहाँको त्यही अवस्थालाई कटाक्ष गर्दै साथी प्रज्वल पहाडीले मजाक पनि गर्नु भयो ः “नारायण सर, यहाँ त समाजवाद ढलेर पुँजीवादको रजाइँ चलेको रहेछ ।” होमस्टेको अवस्था दयनीय भए पनि ग्रामिण विकासको अवस्था भने घान्द्रुकमा लोभलाग्दो नै थियो ।
निर्धारित गरिएको समय अब एक दिन मात्र बाँकी थियो । यो एक दिनमा हामीले बन्दीपुर र घले गाउँमध्ये एउटालाई छाड्नु पर्ने भयो । हामीले बन्दीपुरलाई रोज्यौँ । चाहना हुँदा हुँदै पनि हामी लमजुङको घलेगाउँ जान नसक्ने भयौँ । २५ गते बिहान १० बजे हामी घान्द्रुकबाट तनहूँको बन्दीपुर जानका लागि पोखरातर्फ झर्यौँ । दिउँसो पोखरामा खाना खाइसकेपछि हामी तनहूँको बन्दीपुरतर्फ लाग्यौँ । डुम्रेबाट ८ किलोमिटर पूर्वोत्तरको यात्रा गरेपछि साँझ ४ बजे हामी रमणीय स्थल बन्दीपुर पुग्यौँ ।
बन्दीपुर, इतिहासमा जो सेन राज्य अन्तर्गत पर्दथ्यो, राणाकालदेखिको प्रशासनिक केन्द्र, २०२५ सालमा तनहूँको सदरमुकाम त्यहाँबाट दमौली सरेपछि त्यो स्थान पछाडि परेको थयो । बन्दीपुर बजारमा नेवार जातिको बाहुल्यता रहेछ, जो पहिले भक्तपुरबाट बसाइँ सरेर त्यहाँ आएका रहेछन् । त्यहाँको एउटा विशेषताको रहेछ भने नजिक नजिक धेरै जातिका मानिसहरूको छुट्टा छुट्टै बस्ती रहेछ । कतै मगर बस्ती, कतै ब्राम्हण जातिको बस्ती, त कतै दलित जातिको बस्ती । यति धेरै जाति, यति नजिक नजिकको दुरीमा रहेको, छोटो समयमा नै ती धेरै जातिका बस्तीहरूमा पुगेर उनीहरूको रीतिथिति, संस्कृति र रहनसहनबारे बुझ्न शायद अन्त कतै पाइँदैन होला । बन्दीपुरलाई पर्यटकीय क्षेत्रको रूपमा अघि बढाउने प्रयास भने २०५६ सालपश्चात् नै थालिएको रहेछ । त्यहाँ होमस्टेको सञ्चालन “बन्दीपुर सामुदायिक होमस्टे” नामक समिति मार्फत् गरिएको रहेछ । यो समिति २०६८ साल असोज ३० गते नेपाल पर्यटन बोर्ड, पोखरामा औपचारिक रूपमा दर्ता गरिएको रहेछ । हामीले उक्त समितिका सल्लाहकार एवं भानु माविका प्राचार्य दिपबहादुर खत्री र समितिका पूर्व सदस्य ईश्वरबहादुर थापासँग छोटो कुराकानी गर्यौँ । कुराकानीको क्रममा थाहा लाग्यो, त्यहाँ होमस्टेमा अहिले १०० जनासम्म पाहुनालाई राख्न सकिने व्यवस्था रहेछ । सुरुवातमा १३ घरमा मात्र होमस्टे सञ्चालन गरिएकोमा अहिले त्यो सङ्ख्या बढेर २२ पुगेको रहेछ । पर्यटन बोर्ड, पोखराले बेला बेलामा तालिम दिने र ठाउँ ठाउँको भ्रमण गराउँदै आएको रहेछ । त्यहाँ पनि पाहुनाहरूको स्वागत, सम्मान र सांस्कृतिक कार्यक्रमको व्यवस्थित व्यवस्था मिलाइएको रहेछ । कार्यक्रमहरूको प्याकेज अनुसारको शुल्क निर्धारित गरिएको रहेछ । अहिले त्यहाँ होमस्टेको सञ्चालन महिलाहरूको समूहले नै गर्दो रहेछ । “बन्दीपुर सामुदायिक होमस्टे” को अध्यक्ष दिलकुमारी राना हुनु हुँदो रहेछ भने समितिमा सबै सदस्यहरू महिला नै रहेछन् । तर त्यहाँ पनि होटल र होमस्टेको विवाद भने कायम नै रहेछ । कतिपय होटलवालाहरूले आफ्नो होटललाई नै होमस्टे बताएर पाहुनाहरूलाई झुक्याउने गरेको गुनासो समेत प्राचार्य खत्रीले सुनाउनु भयो । समय अभावका कारण बन्दीपुरमा हामी लामोसमय रोकिन सकेनौँ । झण्डै एक घण्टा प्राचार्य खत्री र पूर्व सदस्य थापासँग कुराकानी गरेपछि हामी बन्दीपुरबाट बिदा भयौँ । बन्दीपुरबाट टोलीसँगै मुग्लिङ आएर म काठमाडौँतर्फ लागेँ, टोली नारायणगढतर्फ अघि बढ्यो ।
सिरुवारी, घान्द्रुक र बन्दीपुरका होमस्टेको अध्ययन र अवलोकनबाट थाहा लाग्यो, होमस्टे नेपालको भौगोलिक परिवेश सुहाउँदो पर्यटनको गतिलो अधार बन्न सक्दो रहेछ । अन्य व्यवसायमा जस्तै यसका पनि जोखिम र विकृतिहरू त छन् तर तुलनात्मक रूपमा ती धेरै कम छन् । इच्छाशक्ति हुने हो भने जस्तै विकट बस्तीहरूमा पनि यसलाई सञ्चालन गर्न सकिन्छ । ओखरकोट पर्यटन एवं ग्रामिण विकास सेवा समिति, प्यूठानले जिल्लामा होमस्टे सञ्चालनका लागि जुन प्रयास अघि बढाएको छ, त्यो सकारात्मक छ । प्यूठानमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोभ्याउने स्वर्गद्वारी, गौमुखी, ऐरावती, ओखरकोट, दियाल्नाचौर, खुङको गुफा, सारी गुफा र मल्लारानी लगायतका धार्मिक एवं प्राकृतिक महत्वका ऐतिहासिक पर्यटकीय स्थलहरू छन् । विभिन्न सांस्कृतिक झाँकीहरूको पनि धनि मानिन्छ प्यूठान जिल्ला । त्यहाँ ठाउँ ठाउँमा होमस्टेको व्यवस्था गर्न सके त्यसले त्यहाँको पर्यटकीय क्षेत्रमा थप योगदान पुग्नेछ । सिरुवारी, घान्द्रुक र बन्दीपुरमा सञ्चालन गरिएका होमस्टेहरूबाट पाठ सिक्दै ओखरकोट पर्यटन एवं ग्रामिण विकास सेवा समिति, प्यूठानले जिल्लामा पनि यसको सञ्चालन प्रक्रिया अघि बढाओस्—हाम्रो शुभकामना !