

स्याङ्जा, जेठ २१ – उपभोक्तालाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित पुतलीबजार नगरपालिकाले जिल्लाकै पहिलो व्यवस्थित बधशाला सञ्चालनमा ल्याएको छ। नगरपालिका–१ मालेबगर खेलमैदान नजिक निर्माण गरिएको अत्याधुनिक बधशालाबाट बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको हो।
सञ्चालनको पहिलो दिन नौ वटा भैँसी/राँगो बध गरेर सेवा प्रारम्भ गरिएको नगरपालिकाले जनाएको छ। पुतलीबजार नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण भएको उक्त बधशालाले अब मासु उत्पादन तथा वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
यसअघि नगर क्षेत्रका मासु व्यवसायीहरूले आँधीखोला किनार, खुला चौर तथा खेतबारीमा पशु बध गर्दै आएका थिए। यसबाट वातावरण प्रदूषण बढ्नुका साथै दुर्गन्ध फैलिने समस्या देखिएको थियो। खुला स्थानमा अस्वस्थकर ढंगले पशु बध गरिँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर पर्ने भन्दै नगरपालिकाले व्यवस्थित बधशाला सञ्चालनमा ल्याएको हो।
नगरप्रमुख तुलसीराम रेग्मीका अनुसार नागरिकबाट लामो समयदेखि उठ्दै आएको गुनासोलाई सम्बोधन गर्दै आधुनिक प्रविधियुक्त बधशाला सञ्चालनमा ल्याइएको हो। “अब पशु बधको काम व्यवस्थित भवनभित्र स्वास्थ्य मापदण्डअनुसार हुनेछ, जसले उपभोक्तालाई सुरक्षित मासु उपलब्ध गराउन मद्दत पुर्याउनेछ,” उनले बताए।
नयाँ बधशाला सञ्चालनमा आएपछि मासु व्यवसायीहरू पनि उत्साहित भएका छन्। उनीहरूले वर्षौंदेखि खुला स्थानमा पशु बध गर्नुपरेको बाध्यता अन्त्य भएको भन्दै अब स्वच्छ र सुरक्षित वातावरणमा काम गर्न पाएको प्रतिक्रिया दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले पशु बध गर्नुअघि आवश्यक स्वास्थ्य परीक्षण तथा मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए। “बधशालाको सञ्चालन स्थानीय उपभोक्ता र मासु व्यवसायी दुवैका लागि सकारात्मक उपलब्धि हो,” उनले भने।
पशु चिकित्सक डा. अनिल चौधरीले नेपालमा लागू रहेको पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनतर्फ यो महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार ऐनले निर्धारण गरेका स्वास्थ्य तथा सरसफाइसम्बन्धी मापदण्ड क्रमशः लागू गर्दै जाने योजना रहेको छ।
नगरपालिकाका अनुसार प्रारम्भिक चरणमा बधशाला सञ्चालनका लागि मासिक ३० हजार रुपैयाँ शुल्क तिर्ने गरी व्यवसायीसँग सम्झौता गरिएको छ। आगामी आर्थिक वर्षदेखि भने प्रतिस्पर्धात्मक टेण्डर प्रक्रियामार्फत यसको सञ्चालन व्यवस्थापन गरिनेछ।
यद्यपि धार्मिक संस्कार, पूजापाठ तथा परम्परागत भोजभतेरसँग सम्बन्धित पशु बधका गतिविधिमा भने तत्काल कुनै प्रतिबन्ध नलगाइएको नगरपालिकाले स्पष्ट पारेको छ।
स्थानीय तहको पहलमा सञ्चालनमा आएको यो बधशाला स्याङ्जामा मासु उत्पादन तथा वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित र स्वास्थ्य मापदण्ड अनुकूल बनाउनेमा विश्वास गरिएको छ ।