
स्याङ्जा – १० मंसिर । स्याङ्जाको वालिङ नगरपालिका–८ काफलडाँडा रहेको गौशाला अहिले आर्थिक कठिनाइका कारण सञ्चालनमै चुनौतीमा परेको छ। छाडा चौपाया व्यवस्थापनका उद्देश्यले २०७६ सालमा स्थापना गरिएको गौशालामा अहिलेसम्म १७५ वटा गाई–गोरु आश्रित छन्। गाईसँगै साना बाछा बाछ्छी, बुढा चौपाया र दुहुनो गाईसम्मका लागि आवश्यक दाना, घाँस, पानी र हेरचाहको भार भने दिनदिनै बढ्दै गएको छ।
स्थायी आम्दानी नहुँदा मासिक करिब १ लाख ५० हजार खर्च जुटाउन समितिलाई कठिन परिरहेको छ। २०८० मा गरिएको महायज्ञबाट संकलित रकमले बनेको ८० लाख रुपैयाँको अक्षयकोषको ब्याज र दूध तथा मल बिक्रीले केही राहत त दिएको छ, तर दिगो रूपमा गौशाला धान्न पर्याप्त छैन।
गौशाला संचालक समितिका अध्यक्ष कमल सुबेदीका अनुसार घाँस, दाना र जनशक्तिका खर्च बढेसँगै दानदाताको संख्या कम हुँदै जानु बढी चुनौती बनेको छ। “गौशाला चलिरहोस् भनेर धेरैले पराल, नल र थोरै नगद सहयोग गर्दै आएका छन्, तर स्थायी श्रोत नहुँदा दिन प्रतिदिन समस्या बढ्दै छ,” उनले भने।
गौशाला परिसरमा रहेको करिब ४०० वर्ष पुरानो शिवालय मन्दिर (धुनी) परिसर र धार्मिक वातावरणले यस क्षेत्रको धार्मिक–पर्यटकीय क्षेत्रमा विकास गर्ने ठूलो सम्भावना बोकेको छ। समितिले दिगो आम्दानीको श्रोत पहिचान गर्दै यही सम्भावनालाई पर्यटनसँग जोड्ने तयारी पनि गरिरहेको छ।
गौशाला सहयोगार्थ समितिले मंसिर १२ गते ‘ईन्द्रणी बृहत् सांस्कृतिक कार्यक्रम–२०८२’ आयोजना गर्न लागेको छ। यस कार्यक्रमबाट केही आर्थिक श्रोत जुट्ने आशा समितिले गरेको छ।

स्थानीयको स–साना सहयोगले पनि गौशालालाई थप सहारा पुगेको छ। गाउँलेहरूमध्ये थुप्रैले घरमा भएका कोदो, मकैको डाँठ, धान–गहुँको नलदेखि थोरै–धेरै नगद सहयोग गर्दै आएका छन्।
यो गौशाला आज आर्थिक कठिनाइमा छ, तर समुदायको निरन्तर हातेमालो र सामूहिक भावनाले यसलाई टिकाइराखेको छ। समुदायको यिनै सानो सहयोगले १७५ जीवन मात्र होइन, धार्मिक हिसावले गौ संरक्षणको अभियानको निरन्तरता पाएको स्थानीय नारायण प्रसाद शर्माले जानकारी दिए । १२ गतेको ईन्द्रेणी बृहत् सास्कृतिक कार्यक्रमको मुख्य भुमिका समेत शर्माको रहेको छ ।