स्याङ्जा — सुरक्षित आप्रवासन (सामी) परियोजनाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारी विषयक अन्तरक्रिया कार्यक्रम स्याङ्जाका पत्रकारहरूसँग सम्पन्न भएको छ। पुतलीबजार नगरपालिकाको सभाहलमा बिहीबार सम्पन्न कार्यक्रममा वैदेशिक रोजगारको अवस्था, चुनौती तथा समाधानबारे गहन छलफल गरिएको थियो।
कार्यक्रममा सामी परियोजनाका जिल्ला संयोजक अनन्त रेग्मीले वैदेशिक रोजगारीका अवसरहरू, जोखिम र सरकारले अघि सारेका सुरक्षात्मक उपायबारे प्रस्तुतीकरण गरेका थिए। वैदेशिक रोजगारीमा जाने क्रममा धेरै नेपालीले जानकारीको अभावमा समस्या भोग्नुपरेको भन्दै उनले श्रमिकहरूलाई सचेत र सजग बनाउनेतर्फ सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
त्यसैगरी नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रक्रियामा सञ्चारकर्मीहरूको सक्रियता अपरिहार्य रहेको बताए। उनले वैदेशिक रोजगारीका नाममा भइरहेका ठगी, शोषण र मानव बेचबिखन रोक्न पत्रकारहरूले उजागर गर्ने समाचारको प्रभावकारी भूमिका हुने धारणा राखे।
कार्यक्रमको सभापतित्व गर्दै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले वैदेशिक रोजगारीमार्फत धेरै युवाहरू विदेशिन बाध्य भइरहेको वर्तमान परिस्थितिमा स्थानीय तहको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे। “श्रमिकहरू सही जानकारीका साथ विदेश जान सकून् भनेर स्थानिय तह, सञ्चारमाध्यम र सरोकारवाला निकायबीच समन्वय आवश्यक छ,” उनले भने।
उपप्रमुख देवी अर्यालले स्वागत मन्तव्य दिँदै वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेका कार्यक्रमहरूमा स्थानीय तहको समेत सहभागिता हुनुपर्ने धारणा व्यक्त गरिन्।
कार्यक्रममा स्याङ्जाका पत्रकार, संचारकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।