हिमदुत सम्वाददाता- जेठ ४ । “विहानै मकैवारीमा नपुगे बिहानको खाजा वाँदरले खाइसक्छ,” वालिङ नगरपालिका–८ का टिकाराम कोइराला चिढिएका स्वरमा भन्छन्। उनकै जस्तै पीडा स्याङ्जाका हजारौ किसानको छ – खेतबारीमा पसिना बगाएर लगाएको बाली, वाँदरले एकैछिनमा सखाप पारिदिन्छ।
स्याङ्जाका ११ वटै स्थानीय तहमा वाँदर आतंकको समस्या गहिरिंदो छ। अन्नबाली, फलफूल, तरकारी केही पनि सुरक्षित छैन। कोही बिहानदेखि बेलुकीसम्म बाली जोगाउन खेतमै बस्छन् भने कोहीले खेतबारी नै खाली राख्न थालेका छन्।
स्थानीय तहहरूले नीति तथा कार्यक्रममा ‘वाँदर नियन्त्रण’ समावेश गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। २०७५ सालमा वालिङ नगरपालिकाले वाँदर तर्साउने उद्देश्यले प्लास्टिक पाइप प्रयोग गरी कार्बाइड विस्फोटको आवाज निकाल्ने बन्दुक वितरण गर्यो। सुरुवातमा प्रभावकारी लागे पनि केही समयमै वाँदरले त्यसलाई बेवास्ता गर्न थाले।
त्यस्तै, गल्याङ नगरपालिकाले वाँदर समाउने बक्स तयार गर्यो। तर, वाँदर समाएपछि कहाँ लैजाने? मार्न कानुनी वन्देज छ, व्यवस्थापन गर्न नसक्दा त्यो उपाय पनि अलपत्र पर्यो।
“हाम्रो वारी वाँझो छन्, जंगलमा फलफूल छैन, अनि वाँदर गाउँमै झर्छ,” वालिङ–८ का बाबुराम रेग्मी बताउँछन्। उनी भन्छन्, “ हामीले वाँस र रूख फडानी गरेपछि भगाउन सजिलो भएको छ, तर दीर्घकालीन समाधान छैन।”
वस्ती छेउका ठूलो रूखहरू वाँदरका बासस्थान हुन्। ती फडानी गरेपछि केही सहज हुने भए पनि पर्यावरणीय सन्तुलन र जैविक विविधतामाथि असर पर्ने वन विज्ञान अध्यायन संस्थान पोखरामा अध्यायनरत विद्यार्थी निकिता कोइरालाले बताउँछिन। उनका अनुसार वाँदरको प्राकृतिक बासस्थान जोगाउनुनै उत्तम विकल्प रहेको उनको धारणा छ ।
वाँदरको संख्या बढ्दै गएको छ। जंगलमा आहार अभाव भएपछि मानवीय बस्ती नै उनीहरूको लक्ष्य बन्न थालेको हो। वन्यजन्तु ऐनले वाँदरलाई मार्न नदिने, समातेर सार्न मिल्ने प्रक्रिया अस्पष्ट छ, यस्तो अवस्थामा न राज्यसँग स्पष्ट नीति छ, न स्थानीय तहसँग प्रष्ट रणनीति।
अनि, किसानका खेतमा पसिना चुहाएर उब्जाएको बाली वाँदरले खाएर सिध्याउँदा कृषकको श्रम, लगानी र आशा सबै खेर गइरहेका छन्।