गल्याङका ११ जनाको स्वाब परिक्षणका लागि पोखरा पठाइयो
गल्याङ, २४ चैत्र ।
स्याङ्जाको गल्याङ नगरपालिकामा विदेशबाट आएका मध्ये ११ जनाको स्वाब नमुना परिक्षणका लागि पोखरा पठाइएको छ । कोरोनाको सम्भावित संक्रमणवाट बच्नका लागि विदेशवाट आएका होम क्वारेन्टीनमा नगरपालिकाको निगरानीमा राखिएका मध्येको थ्रेट स्वाव परिक्षणका लागि नमुना पोखरा पठाइएको नगरपालिकाले जनाएको छ ।
गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले विदेशबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरिएसँगै स्वाब संकलन गरि पोखरा पठाइएको छ । रिपोर्ट आएपछि उनीहरुलाई परिवारसंग घुलमेलका लागि अनुमति दिइने उनले जानकारी दिए ।
गल्याङले पनि राहत कोष मार्फत सहयोग जुटाउदै
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणवाट बच्नका लागि नेपाल सरकारले गरेको दुई हप्ता लामो लकडाउनका कारण अहिले जनजीवन प्रभावित बन्न थालेको छ । विश्वमा संक्रमणको दर झनै उच्च हुँदै गइरहेकाले सरकारले लकडाउनको समय वैशाख ३ गते सम्म लम्व्याउने भएपछि नगरपालिका क्षेत्र भित्र खाद्यान्न समस्यामा परेका अति विपन्न परिवार र दैनिक ज्याला मजदुरीका भरमा निर्भर हुने परिवारमा समस्या पर्दै जान थालेपछि नगरपालिकाले राहत जुटाउने कार्यको थालनी गरेको छ ।
नेपाल सरकारको परिपत्र अनुसार एकद्वार प्रणालीवाट राहत वितरण गर्ने र समस्यामा परेका परिवारको पहिचान गरी राहत वितरण गर्ने र कम्तिमा एक महिनालाई पुग्ने राहत सामाग्रि उपलव्ध गराउने भएपछि नगरपालिकाले राहत कोष स्थापना गरी राहत संकलन कार्यमा जुटेको छ । नगरपालिकाले स्थापना गरेको कोषमा स्थानीय संघ संस्था र व्यक्तिहरुले नगरपालिकालाई सहयोग गर्ने क्रम बढदो रहेको नगरपालिकाले जनाएको छ ।
सोमबार राहत कोषमा गल्याङ चेम्बर अफ कमर्शले रु ५१ हजार एक सय रुपैयाँ सहयोग गरेको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी मार्फत उक्त कोषमा रकम जम्मा गरिएको हो ।
सहयोग रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले भर्खरै स्थापना भएको गल्याङ चेम्बर अफ कमर्सले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । संकटका वेला स्थानीय सरकारलाई सहयोग गर्ने बेला आएकाले सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गरेका थिए । राहत कोषलाई पारदर्शी तरिकाले वास्तविक पीडित परिवारकोलागि सहयोग गरिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
रकम हस्तान्तरण गर्दै गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले पीडितहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले थोरै भएपनि सहयोग गरिएको बताए ।
यस्तै, लायन्स क्लब अफ गल्याङ सिटीले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा १५ हजार सहयोग रकम जम्मा गरेको छ । गल्याङको नयाँबजारमा लायन्स क्लबका प्रथम उपाध्यक्ष अर्जुन बस्यालले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।
साथमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वि वान नेपाल बाट प्राप्त तीन थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ पनि बस्यालले नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले लायन्स क्लब सेवाको भावनामा सधैं अग्रसर हुने गरेको भन्दै सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
गल्याङमा चार सय ९५ परिवारका १८ सय ५४ जनालाई राहत वितरण
स्याङ्जाको गल्याङ नगरपालिकाले चार सय ९५ परिवारलाई राहत बाँडेको छ । गल्याङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चारमा लकडाउनका कारण समस्यामा परेका अति विपन्न चार सय ९५ परिवारलाई राहत बाँडिएको हो ।
शनिबार बेलुकासम्ममा चार सय ९५ परिवारका एक हजार आठ सय ५४ जनालाई राहत बाँडिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिए । उनीहरुलाई चार वटै वडामा गरी हालसम्म नौ हजार दुई सय ७० किलो चामल बाँडिएको छ ।
यस्तै, पाँच सय ५१ किलो दाल, ४९७ किलो नुन, चार सय ७६ लिटर खाने तेल र चार सय ६७ वटा हात धुने साबुन बाँडिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए । राहतका लागि आइतबार वडा नम्बर पाँचमा वितरण गरिएको थियो ।
राहत वितरणका लागि वडा वडामा पुग्नुभएका नगरप्रमुख भुपराज अधिकारीले नगरपालिकाले बनाएको राहत मापदण्ड अनुसार विपन्नहरुलाई राहत बाँडिएको जानकारी दिए । वडा नम्बर चारमा भएको कार्यक्रममा उनले भने –“कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउनका लागि लकडाउन भएको अवस्था छ ।
यो विपदको समयमा नगरपालिकाले पिडामा परेकाहरुलाई सहयोग गरेको हो ।” नगरप्रमुख अधिकारीले सबै नगरबासीको अभिभावकत्व नगरपालिकाले लिने भन्दै ढुक्क हुन आग्रह पनि गरे । उनले भने –“तपाईहरु साबधानी अपाउनुहोला । भुपराज बस्यालले तयार पारेको समाचार
गल्याङमा तीन जना मात्रै होम क्वारेन्टीनमा
स्याङ्जाको गल्याङ नगरपालिकामा होम क्वारेन्टाइनमा बस्नेको संख्या तिनमा झरेको छ । १५ दिन भन्दा बढि क्वारेन्टाइनमा बस्नेहरुलाई परिवारसँगै बस्ने अनुमति दिइएसँगै होम क्वारेन्टाइनमा बस्नेको संख्या तिनमा झरेको हो ।
गल्याङ नगरपालिकाको वडा नम्बर ४ मा एक जना र ६ मा दुई जना मात्रै होम क्वारेन्टाइनमा रहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
विदेशवाट आएका १५ दिन भन्दा बढि होम क्वारेन्टाइनमा बसेकाहरुलाई साबधानीपूर्वक रहन आग्रह गर्दै स्वास्थ्य परिक्षण पछि परिवारसँगै बस्न अनुमति दिइएको पाण्डेले जानकारी दिए । घर परिवार संग घुलमेलका लागि अनुमति दिइएपनि उनीहरुलाई सम्वन्धित वडा अध्यक्ष र जनप्रतिनिधिको निगरानी भने रहिरहने नगरपालिकाले जनाएको छ ।
गल्याङमा चैत्र दुई गते यता विदेशबाट आएका एक सय १० जना मध्ये एक सय सात जना अब परिवारसँगै बस्न पाउने भएका छन् । तिमध्ये एक जना १० गते र दुई जना ११ गते आएका मात्रै होम क्वारेन्टाइनमा निगरानी गरिएको छ ।