भीरकोट, १९ फागुन ।
विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसबारे सचेतना फैलाउने उद्देश्यका साथ भीरकोट जेसीजले जानकारीमुलक अभियान शुरु गरेको छ ।
भीरकोट जेसीजले नगरपालिकाका बिभिन्न वडामा अभियान सञ्चालन गरिरहेको जनाएको छ । अभियानका क्रममा सोमवार भीरकोट ६ उजेलीडाँडा स्थित भाग्योदय मा बि मा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भीरकोट ५ का अध्यक्ष तथा वालिङ जेसीजका पूर्ब अध्यक्ष याम प्रसाद अधिकारीले आफ्नो स्वास्थ्य बारे सचेत रहन सबैलाई आग्रह गरेका थिए । उनले कोरोना भाइरसबाट पर्नसक्ने प्रभाव र अपाउनुपर्ने सचेतना तथा यसका लागि गर्नुपर्ने आवश्यक तयारीबारे यहाँ सिकाइएका कुराहरु आफू र समाजमा सबैलाई सिकाएर यस्ता महामारीको प्रकोपवाट सावधानी अपनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष लक्ष्मण खत्री र बिद्यालयका प्रधानाध्यापक रेशमराज रेग्मी लगायतले यस्ता अभियानबाट समुदाय स्तरसम्म सचेतना प्रवाह भई रोगबाट बच्न सहयोग पुग्ने बताएका थिए । खिलुङ देउराली स्वास्थ्यचौकीका प्रमुख दिपेश नेपाललीले कोरोना भाइरसका बारेमा जानकारी गराएका थिए ।
भीरकोट जेसीजका अध्यक्ष मिना खाँणको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यकारिणी उपाध्यक्ष प्रसुन मगरले गरेका थिए । कार्यक्रममा बिद्यालयका बिद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो । यस्तै जेसीसले जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
१०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी यस भाइरसका लक्षण हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभीड–१९ भनिने यो भाइरस खोक्दा र हाछयँु गर्दा निस्कने थुकबाट एवं संक्रमित मानिसले छुँदा पनि सर्छ । नोबल कोरोना भाइरस नयाँ किसिमको भाइरस भएको र हालसम्म खोप र उपचारविधिमा प्रगति हुन नसकेकाले सरसफाइ अपनाउन तथा संक्रमण फैलिनबाट बच्न स्वास्थ्यकर्मीले बताएकाछन ।
नियमित रुपमा साबुनपानीले हात धुने, खोक्दा र हाछ्यँु गर्दा नाक र मुख छोप्ने एवं रुघा खोकीकोजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, त्यस्तो लक्षण हुने व्यक्तिको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरपालुवा पशुपंछीसँग टाढा रहने, पशुजन्य मासु र अण्डा राम्रोसँग पकाएर खाने, सार्वजनिक स्थानमा जादा मास्क लगाउने आदि जस्ता सावधानी अपनाउनुपर्ने कार्यक्रममा जानकारी गराईएको थियो ।