वालिङ, १८ माघ ।
वालिङ नगरपालिकाले खरका छाना विस्थापित गर्दै जस्तापाता वितरण अभियान थालेको छ । नगरपालिकाले खरका छाना मुक्त नगरपालिका निर्माण गर्ने उद्देश्यका साथ नगर कार्यपालिकाको पाँचौं नगर सभावाट नगर भित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाईदिने नीति तथा कार्यक्रम पारित गरेको हो । खरका छाना भएका घरको लगत संकलन पश्चात छाना विस्थापन अभियानको शुरुआत गरेको छ ।
वालिङ नगरपालिका क्षेत्र भित्रका १४ वटै वडामा रहेका खरका छाना विस्थापनका लागि लगत संकलन गरी शुक्रबारबाट जस्तापाता वितरण गर्न थालेको नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए ।
खाँणका अनुसार पहिलो चरणमा अति विपन्न घर परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरणको अभियान सुरुवात गरेको जानकारी दिए । शुक्रबार अभियानको सुरुवात गर्दै वालिङ ५ का बेगबहादुर सार्कीलाई तीन बण्डल जस्तापाता निशुल्क प्रदान गरिएको नगर प्रमुख खाँणले बताए ।
खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भएपनि वर्षातमा राम्रोसँग सुत्न नपाउने र हिउँदमा आगलागीको डर भएकाले नगरपालिकाले खरका छाना विस्थापन गरी जस्तापाताले घर छाउने अभियान सञ्चालन गरेको उनको भनाई छ ।
अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभावका कारण कतिपय घरहरु जिर्ण अवस्थामा रहेको पाइएकोले पनि नगरपालिकाले यो अभियान सुरुवात गरेको नगर प्रमुख खाँणले जानकारी दिए ।
“कतिपय घर परिवार खरको छानो पनि फेर्न नसक्ने अवस्थामा छन्” नगर प्रमुख खाँणले भने, “खरका छानो भएकाहरु गरीब हुन् भनी फरक ढंगले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान थालेका हौं ।” विपन्नताका कारण समाजमा विद्यमान रहेको हेय मानसिकता हटेर जाने विश्वास उनको छ ।
खरका छाना भएका घरधनीले वडाको सिफारिस र खरको छानोको फोटो सहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकबाट लागत स्टिमेट अनुसार जस्तापाता प्रदान गर्ने प्रक्रिया रहेको नगर उपप्रमुख कल्पना तिवारीले वताइन् ।
उनले नागरिकको गाँस, बास, कपास र स्वास्थ्यको न्यूनतम आवश्यकता पुरा गर्न अति विपन्न घर पहिचान गरेर कार्यक्रमको सुरुवात गरेको वताइन् । नगरपालिकाले तत्कालै परिवर्तन गर्नुपर्ने घरको पहिचान गरेर पहिलो चरणमा जस्ता वितरण सुरु गरेको वताइन् ।
नगरपालिकाले खरका छाना विस्थापनका लागि आबेदन माग गरेसँगै हालसम्म चारसय २८ जनाको निवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले जानकारी दिए ।